नेपालका लागि ‘फाइटिङ स्पिरिट’ बलियो हतियार

5.98K
shares

विराटनगर ।  पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा भएको भेटमा नेपाली महिला फुटबल टोली भारतसँग अपराजित छ। गत नोभेम्बरमा भएको ओलम्पिक छनोट प्रतियोगिताको पहिलो चरणअन्तर्गत समूह ‘सी’को खेलमा नेपालले भारतलाई गोल रहित बराबरीमा रोकेको थियो। त्यस पछि गत फेब्रुअरीमा भारतमै भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि प्राप्त नतिजा हो यो। यही पृष्ठ भूमिमा नेपाली टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) वुमन्स च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार भारतसँग फेरि भिड्दै छ। शुक्रबार विराटनगर स्थित सहिद रंगशालामा हुने खेल अपराह्न ३ बजे पछि सुरु हुने छ।

पछिल्लो दुई खेलको सफलतामा नेपाली खेलाडीको ‘फाइटिङ स्पिरिट’लाई जितको मुख्य आधार मानेका प्रशिक्षक खड्का यसपटक पनि त्यही विश्वासमा छन्। ‘भारत दक्षिण एसियामा स्थापित टोली हो। भारत हामी भन्दा प्राविधिक र रणनीतिक रूपमा अगाडि पनि छ। यद्यपि पछिल्ला दुईमध्ये हामीले एक खेलमा भारतलाई बराबरीमा रोकेका छौं भने अर्काे खेलमा हराएका छौं।

यी सफलताको आधार नेपाली खेलाडीको फाइटिङ स्पिरिट नै हो’, प्रशिक्षक खड्का भन्छन्, ‘पछिल्लो सफलता पछि नेपाली खेलाडीमा भारतलाई हराउन सक्छौं भन्ने आत्मविश्वास पलाएको छ। अहिले खेलाडी उच्च मनोबलमा छन् र त्यसैले भारतलाई हराउन नेपाली खेलाडीमा रहेको फाइटिङ स्पिरिट नै मुख्य हतियार हुने छ।’

नेपाल चौथो पटक साफ वुमन्स च्याम्पियसिपको फाइनलमा पुगेको हो। यस अघिको चारवटै संस्करणमा नेपाली टोली भारतसँगै पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो। नेपाली टोली यस अघि तीन पटक फाइनलमा र एकपटक सेमिफाइनलमा भारतसँग हारेको थियो। सन् २०१० मा सुरु भएको प्रतियोगिताको अघिल्लो तीन संस्करणको फाइनलमा नेपाललाई नै पराजित गर्दै भारतले उपाधि जितेको थियो। सन् २०१६ मा नेपाललाई सेमिफाइनल मै पराजित गरेको भारतले फाइनलमा बंगलादेशलाई ३–१ ले हराउँदै चौथो पटक उपाधि उचालेको थियो।

भारत अघिल्लो संस्करणको सफलतालाई निरन्तरता दिँदै पाँचौंपटक उपाधि उचाल्ने योजनामा छ। त्यसको ठीक विपरीत साफ च्याम्पियनसिपमा भारतलाई पहिलोपटक पराजित गर्दै नेपाल पहिलोपटक घरमा आयोजना भएको प्रतियोगिताको उपाधि घरमै राख्ने योजनामा छ। प्रशिक्षक खड्का यस पटक भारतको वर्चश्वलाई तोडेरै छाड्ने बताउँछन्। ‘हामी आफ्नो घरमा खेल्दै छौं र उपाधि पनि घरमै राख्ने छौं’, खड्का भन्छन्, ‘भोलिको दिन हाम्रो हुने छ। खड्काले खेलमा आफ्नो नियन्त्रण कायम गर्दै भारत विरुद्ध आक्रामक रणनीति अपनाउने बताएका छन्।

‘भारतले आक्रामक खेल खेल्ने छ। हामी पनि भारतका केही राम्रा खेलाडीलाई बढी निगरानीमा राखेर आक्रामक खेल खेल्ने छौं’, खड्काले भने, ‘भारतले आक्रामक खेल खेल्दा हाम्रा मुख्य स्ट्राइकर सावित्रा भण्डारीले अझ खुलेर खेल्ने अवसर पाउने छिन्। उनीसँगै अनिता बस्नेतलाई पनि अग्रपंक्तिमै पूर्ण रूपमा आक्रमणको जिम्मेवारी दिइने छ। साथै रक्षापंक्तिमा पनि केही टाइट गरेर खेल्ने छौं।’

नेपाली टोलीकी कप्तान नीरू थापा पनि आफ्ना प्रशिक्षकको योजनामा सहमत देखिइन्। ‘फाइनलअघि हामीलाई कुनै दबाब छैन। सबै खेलाडी उच्च मनोबलमा छन्’, कप्तान थापा भन्छिन्, ‘हामीले गुरुले सिकाउनु भए अनुसार खेल्न सक्यौ भने निश्चित रूपमा उपाधि घरमै राख्ने छौं।’ भारतीय टोलीका प्रशिक्षक मायामोल नेदुगदन रक्कीले पनि उपाधि जित्ने दाबी गरेकी छन्। ‘हामी पछिल्लो पटक नेपालसँग पराजित भएका थियौं तर यो नयाँ प्रतियोगिताको नयाँ खेल हो। त्यसैले निश्चित दिनमा जसले राम्रो प्रदर्शन गर्छ, जित उसकै पक्षमा हुने छ’, उनले भनिन्, ‘नतिजा हाम्रो पक्षमा आउनेमा हामी ढुक्क छौं।

भारतीय टोलीले नियमित रूपमा अन्य देशमा खेलेका छन्। त्यसैले नेपाल विरुद्ध उसकै मैदानमा खेल्दा कुनै फरक पर्ने छैन।’ भारतीय टोलीकी कप्तान आशालता देवी लोइतोङ्बाङले पनि जित आफ्नो पक्षमा आउने दाबी गरिन्। ‘नेपाल बलियो प्रतिद्वन्द्वी हो। यद्यपि फाइनलमा नेपाललाई पराजित गर्दै हामी पाँचौं पटक उपाधि उचाल्ने छौं’, उनले भनिन्। फाइनल खेल अघि दुवै टोलीले बिहीबार मैदानमा सामान्य तयारी गरेका छन्।

प्लेयर टु वाच

सावित्रा भण्डारी (नेपाल)

सावित्रा भण्डारी नेपाली टोलीकी मुख्य स्ट्राइकर हुन्। पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा उनकै सशक्त प्रदर्शनमा नेपाली टोलीले सफलता हात पार्दै आएको छ। जारी साफ वुमन्स च्याम्पियनसिपमा समेत अग्रपंक्तिमा उनकै सशक्त प्रदर्शनमा नेपाल फाइनलसम्म पुगेको छ।

शुक्रबार हुने फाइनलमा भारतलाई पराजित गर्दै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन उनले सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। बलसँगको तीव्र गति, विपक्षी रक्षापंक्तिलाई सहजै तोड्न सक्ने र लामो दूरीबाटै सशक्त प्रहार गर्न सक्ने क्षमताले उनलाई दक्षिण एसियाली क्षेत्रकै उत्कृष्ट स्ट्राइकरका रूपमा उभ्याएको छ।

बुधबार भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० गोलले पराजित गर्दा एक गोल गरेकी सावित्राले राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने दोस्रा खेलाडी पूर्वकप्तान जमुना गुरुङको २५ गोलको कीर्तिमानसँग बराबरी गरेकी छन्। आफ्नो नयाँ कीर्तिमानसँगै हौसिएकी उनले फाइनलमा अझ सशक्त प्रदर्शन गर्ने अनुमान गरिएको छ।

नेपालको फाइनल यात्रा

भुटानविरुद्ध ३–० गोलले विजयी (समूहगत चरण)

बंगलादेशविरुद्ध ३–० गोलले विजयी (समूहगत चरण)

श्रीलंकाविरुद्ध ४–० गोलले विजयी (सेमिफाइनल)

भारतको फाइनल यात्रा

माल्दिभ्सविरुद्ध ६–० गोलले विजयी (समूहगत चरण)

श्रीलंकाविरुद्ध ५–० गोलले विजयी (समूहगत चरण)

बंगलादेशविरुद्ध ४–० गोलले विजयी (सेमिफाइनल)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083