साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजादै

6.27K
shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा बिहीबारबाट सुरु भएको छ। क्यान निलम्बन फुकुवाका लागि महत्त्वपूर्ण मानिएको यस साधारणसभाले नयाँ विधानलाई सल्लाहकार समूहले तयार पारेको मस्यौदाअनुसार संशोधनसहित पारित गर्ने विश्वास गरिएको हो ।

२०७४ भदौमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधानलाई संशोधन गर्दै निर्वाचन साधारणसभामा १७ जना सदस्यले स्वतः भाग लिन पाउने तथा राष्ट्रिय खेलकुद परिषद्का सात जना पदाधिकारीहरू विना मताधिकार साधारणसभामा रहन पाउनुपर्ने व्यवस्था गरेको थियो।

उक्त संशोधित विधानलाई आइसिसीले अस्वीकृत गरेपछि गत माघमा आइसिसीसँगको छलफलमा उक्त संशोधित बुदाँहरू हटाउँदै सल्लाहकार समितिले बनाएको विधान पारित गर्न क्यानका पदाधिकारीहरू राजी भएपछि क्यान विवाद समाधान हुने विश्वास गरिएको छ।

साधारणसभाले क्यानको विधान सहमतिबमोजिम संशोधन गरे आइसिसीले आगामी जुनमा हुने उसको वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको छ। यो साधारणसभाका लागि आइसिसीले पनि बजेट निकासा गर्नुका साथै सकारात्मक रूपमा लिएको भन्दै स्वागत गरेको छ।

यदि विवादित बुँदाहरूलाई हटाएर विधान पारित भएमा नयाँ स्वरूपमा नेपाल क्रिकेट संघ देखिनेछ। विधान पारित भएसँगै निर्वाचन चरणमा क्यान प्रवेश गर्नेछ, जसबाट नयाँ नेतृत्व नेपाली क्रिकेटमा आउनेछ।