नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट बन्दै, ऊर्जामन्त्रीले गरे शिलान्यास

11.34K
shares

नुवाकोट । नेपाल सरकार मातहात नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शुक्रबार शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोटको देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरेका हुन् ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्लान्टबाट दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए,मध्यमस्र्याङदी,मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसंग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ । प्राधिकरणको स्वामित्वमा रहेका त्रिसुली र देवीघाट विद्युत केन्द्रको नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ । राष्ट्रिय प्रणालीमा अधिकांश विद्युत जलविद्युत आयोजनाबाट प्रवाह भइरहेको अवस्थामा सोलार प्लान्ट स्थापनासँगै सरकारले अगाडि बढाएको ऊर्जा मिश्रण कार्यक्रम कार्यान्वयनतर्फ अघि बढेको प्राधिकरणको भनाई छ । ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले आगामी पाँच वर्षभित्रमा पाँच सय मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083