म सरकारकै स्वीकृतिमा अमेरिका गएको हुँ : मुख्यमन्त्री ‘राई’

10.35K
shares

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले आफू संघीय सरकारकै स्वीकृतिमा विदेश भ्रमणमा गएको बताएका छन्।

अमेरिका भ्रमणबाट बुधबार फर्किएका मुख्यमन्त्री राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू संघीय सरकारको स्पष्ट स्वीकृतिमा विदेश गएको बताएका हुन् । उनले भने, ‘स्वीकृति लिएर गएकोमा मेरो प्रमाणलाई प्रायोजित रुपमा विवादित बनाउन खोजिएको हो।’

आफू स्वास्थ्य उपचारका लागि संघीय सरकारको स्वीकृतिमा थाइल्याण्ड गएको र त्यहाँ जाँच गराउँदा स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरले बताएको उनले उल्लेख गरे।

उनले उपचारपछिको बाँकी समय सदुपयोगका लागि अमेरिका गएको पनि दाबी गरे। उनले भने, ‘थाइल्याण्डजस्तै अमेरिका पनि सरकारको स्वीकृति लिएर नै गएको हुँ। स्वीकृति बिना जाने अधिकार मसँग छैन।’ उनले आफू अमेरिकामा विभिन्न नेपाली संघसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी भएको बताए।

यस्तै उनले अमेरिकामा कुटपिट भएको भनिएका पत्रकारलाई आफूले नचिन्ने र ती व्यक्तिसँग कुनै पनि सम्बन्ध नरहेको तथा त्यसबारे सम्बन्धित पक्षले अनुसन्धान गरेकाले आफू थप बोल्न नचाहने मुख्य मन्त्री राईले बताए।

मुख्य मन्त्री राई स्वास्थ्य उपचारका लागि भन्दै कात्तिक १६ गते थाइल्याण्ड गएका थिए। उनी उतैबाट कात्तिक २० गते अमेरिका प्रस्थान गरेका थिए । आफ्नो थाइल्याण्ड तथा त्यसपछिको अमेरिका भ्रमण सरकारकै अनुमतिमा रहेको दाबी गरेका मुख्य मन्त्री राईले ६ महिनापछि फेरि नियमित स्वास्थ्य परीक्षणका लागि डाक्टरले आउन भनेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083