डिआइजी शेखर खनालद्वारा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता
वि.सं.२०८३ असोज ९ शुक्रवार १०:३३
shares

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शेखर खनाल तथा कोशी प्रदेशअन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित अन्य मातहत कार्यालय प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
कार्यसम्पादन सम्झौताको उद्देश्य प्रहरी संगठनका निर्धारित लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मातहतका प्रहरी कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित, परिणाममुखी र जिम्मेवार बनाउनु रहेको जनाइएको छ।
यसैबीच आर्थिक वर्ष २०८२/०८३ मा नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८६.३६ प्रतिशत लक्ष्य हासिल गर्दै सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय बन्न सफल भएको जनाइएको छ।
त्यस्तै, कोशी प्रदेश प्रहरी प्रमुख र प्रदेशअन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुखबीच आर्थिक वर्ष २०८२/०८३ का लागि भएको वार्षिक कार्यसम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९४.३८ प्रतिशत लक्ष्य हासिल गर्दै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको बताइएको छ।
गत आर्थिक वर्षको कार्यसम्पादनमा उत्कृष्ट नतिजा हासिल गरेको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय संखुवासभाको कार्यसम्पादनलाई संगठनभित्र उदाहरणीय उपलब्धिका रूपमा लिइएको छ।
नयाँ आर्थिक वर्षका लागि गरिएको कार्यसम्पादन सम्झौताले प्रहरी संगठनका प्राथमिकता, लक्ष्य र जिम्मेवारीलाई स्पष्ट गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
























