इन्स्पेक्टर प्रदीप थापा भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित
वि.सं.२०८३ असोज ९ शुक्रवार १०:२९
shares

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप थापा २०८३ साल भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्। नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा, कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले बुधबार आयोजित एक कार्यक्रममा इन्स्पेक्टर थापालाई प्रशंसापत्रसहित सम्मान गरेका हुन्।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप थापालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जनाइएको छ।
ट्राफिक व्यवस्थापन, सडक अनुशासन कायम तथा सर्वसाधारणमा ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धिका क्षेत्रमा थापाले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै सम्मान गरिएको प्रहरी कार्यालयले जनाएको छ। ‘बेस्ट पुलिस अफ द मन्थ’ सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र उत्साहित बनाउने तथा उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
























