महासमिति बैठक नजिकिँदै गर्दा जुर्मुराए कांग्रेसको नयाँ पुस्ताका नेता
वि.सं.२०७५ कात्तिक २९ बिहीवार १३:१२
shares

काठमाडौं । महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नयाँ पुस्ताका नेताहरू जुर्मुराउन थालेका छन् ।
गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको पराजयपछि शीघ्र महासमिति बैठक बोलाउन दबाब सिर्जना गरेका युवा नेताहरू फेरि सक्रिय भएका हुन् । संगठनात्मक र विधान संशोधनमार्फत् कांग्रेसको पुनर्संरचनाका लागि उनीहरूले समानान्तर प्रस्ताव बहसमा लैजाने तयारी गरेका छन् ।
कांग्रेसको महासमिति बैठक मंसिर २८ देखि ३० सम्म काठमाडौंमा गर्ने तयारी छ । महासमिति बैठकमा लैजाने राजनीतिक र विधान संशोधन प्रस्तावको विषयमा छलफल गर्न कांग्रेसको नयाँ पुस्ताका नेताबीच बुधवार काठमाडौंमा छलफल भएको छ ।
केन्द्रीय सदस्य गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियारलगायत केन्द्रीय सदस्यहरू बुधवारको भेलामा उपस्थित थिए । बुधवार सहभागी नभएका प्रदीप पौडेल, रामकृष्ण यादव र कमला पन्तसहित शुक्रवार या शनिवार पुनः अर्को भेला गर्ने उनीहरूको तयारी छ ।
ʻ२०१५ सालमा बीपीले ल्याएको अवधारणले बदलिँदो समयमा जनताको मन जित्न सकिँदैन, त्यसैले नयाँ राजनीतिक सिद्धान्तबारे छलफल गर्नुपर्छ भन्ने हामीहरूको सोच हो,ʼ भेलामा सहभागी एक केन्द्रीय सदस्यले मुक्तिखबरसँग भने ।
महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिले पेश गर्ने राजनीतिक प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले पेश गर्ने विधान संशोधन प्रस्तावलाई चुनौती दिनेगरी समानान्तर प्रतिवेदन ल्याउने युवा नेताहरूको तयारी छ ।
कांग्रेस विधानमा रहेको क्रियाशील र सक्रिय सदस्यताको व्यवस्था हटाउने उनीहरूको प्रस्ताव छ । ʻलोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि कांग्रेसलाई रिभाइज गर्नुपर्छ, आफू नबदलिने हो भने कांग्रेसलाई रिभाइज गर्न सकिँदैन भन्ने हामीहरूको दबाब हो,ʼ केन्द्रीय सदस्य धनराज गुरुङले मुक्तिखबरसँग भने ।
कांग्रेसमा फेरिँदै समीकरण
महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा समीकरण फेरबदल देखिएको छ । आगामी वर्षको फागुनमा हुने महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसमा समीकरण फेरबदल हुन लागेको हो । यसअघिको महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननंसिह केसीसहित रामचन्द्र पौडेल पक्षका नेताहरूबीच छलफल भएको छ ।
नेतृ सुजाता कोइरालाको निवमासमा केहीदिन पहिले पौडेल समूहका नेताहरूबीच छलफल भएको थियो । आगामी महाधिवेसनमा सभापतिका लागि साझा उम्मेदवारी दिने भन्दै कोइराला परिवारका तीन नेताहरू डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच पटक–पटक छलफल हुँदै आएको छ ।
शशांक सभापतिमा उठेमा आफू पनि सभापतिमा लड्ने बताएका प्रकाशमान सिंह पनि बैठकमा उपस्थित थिए । उनीहरूले महासमिति बैठकमा एकजुट भएर जाने निर्णय गरेका छन् ।































