एक लाखकोे खुकुरी

6.01K
shares

बागलुङ। हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ। कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन। अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ।

स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो। उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताए। अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आएका हुन्। उनले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राखेका छन्।

विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आउनुभएका विकले भन्नुभयो, “मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु एउटा महोत्सवमा जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।” छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उनी स्टल लिन्छन्।

आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन्। सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन्। ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’ कालिगड विकले भन्नुभयो, “महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् । ”

फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उनको भनाइ थियो। विकलाई व्यवसायमा उनकी श्रीमती सरिताले पनि साथ दिँदै आएकी छन्। मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन्। विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन्।

सबै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुने गरेको विक बताउछन्।। “आरन हाम्रो पुख्र्यौली पेशा हो” विकले भन्नुभयो, “अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।” विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्छन्। उनीहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो।

‘बुबासँग काम गर्दै यो पेशा सिकेँ’ विकले भन्नुभयो, “व्यावसायिक रुपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।” आरन व्यवसायबाटै जोडेको धनले विकले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा घर बनाएका छन्। उनका दुई छोरा र दुई छोरी पढाइमा छन्। आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अगालेर विक सफल भएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083