न्यूजील्यान्डमा एउटै किनारामा एक सय पैतालीस वटा ह्वेल मृत फेला

5.98K
shares

एजेन्सी । न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री (हाइकर) ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए । “धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्किदो अवस्थाका सहज मृत्युवरण गराउनु बाहेक अरु विकल्प थिएन ।” उनले भने, “तर, यो निर्णय मुटुमाथि ढुङ्गा राखेर गर्नु परेको थियो ।”

एक साताभित्रै न्यूजील्यान्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो । न्यूजील्यान्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिने क्रम सामान्य झैं हो । संरक्षणकर्मीहरुका अनुसार वर्षमा औसतमा ८५ वटा घटना ह्वेलसँग जोडिएका हुन्छन् ।

आइतबार, दशवटा साना आकारका तर निकै हिंस्रक ह्वेलहरु उत्तरी आइल्यान्डमा अलपत्र भेटिएका थिए । तीमध्ये दुईवटाको मृत्यु भइसकेको छ भने बाँचेका अरुको उद्धार गर्ने प्रयत्न जारी रहेको छ ।

ह्वेलहरु र डल्फिन किन अलपत्र हुन्छन् भन्ने यथार्थ जानकारी छैन । तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, अरु जनावरले गर्ने आक्रमण वा सङ्कटपूर्ण मौसमले समुद्रका यी भिमकाय जनावरको मृत्यु हुने अनुमान गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083