राजपामा संयोजक परिवर्तन पछिको विवाद : यादवलाई माफी माग्न नेताहरुको दबाव
वि.सं.२०७५ मंसिर १० सोमवार १३:१२
shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक परिवर्तन हुँदा देखिएको विवाद पुनः अध्यक्ष मण्डलको बैठकमा पुगेको छ।
मंसिर ४ गतेको अध्यक्ष मण्डलको बैठकले महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई संयोजक तोकेको थियो। विधानमा भएको व्यवस्थाअनुसार नै चक्रीय प्रणालीमार्फत दुई–दुई महिना संयोजक रहने गरी संयोजक परिवर्तन गरिएको थियो।
तर, ठाकुरलाई अपमानित हुने गरी संयोजकबाट हटाइएको र मिडियामार्फत विभिन्न आरोप लगाइएको ठाकुर पक्षले ठहर छ। ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाका अनुसार अध्यक्ष मण्डलका महेन्द्रराय यादवले ठाकुरप्रति निराधार आरोप लगाएका थिए।
ठाकुरले पार्टीलाई गति दिन नसकेको र व्यक्तिगत स्वार्थमा फसेको प्रतिक्रिया यादवले दिएका थिए। ठाकुरलाई अपमान हुने खालको प्रतिक्रिया यादवले दिएको भन्दै झासहितका नेताहरुले यादवलाई क्षमा माग्न आग्रह गरेका छन्। तर यादवले आफूले त्यस्तै कुनै प्रतिक्रिया नदिएको दाबी गरेका छन्।
यसैबीच ठाकुर पक्षका नेताहरुले आज छुट्टै बैठकसमेत बोलाएको थियो। ठाकुर पक्षका मानिएका राजपा उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालको पहलमा ठाकुर पक्षका नेताहरुको बृहत बैठक बस्न लागेको थियो। आज ११ बजे बोलाइएको बैठकबाट नकारात्मक सन्देश जाने भन्दै ठाकुरले बैठक नबोलाउन निर्देशन दिएपछि स्थगित भएको छ।
तर ठाकुर पक्षका शीर्ष नेताहरुले अनौपचारिक छलफल जारी राख्दै महेन्द्र राय यादवलाई माफी माग्नु पर्ने निष्कर्ष निकालेका छन्। उक्त विषयमा आज बस्न लागेको राजपाको अध्यक्ष मण्डलको बैठकमा छलफल हुनेछ। राजपा अध्यक्ष मण्डलका एक सदस्यका अनुसार ठाकुर पक्षले बोलाउन खोजेको बैठक र महेन्द्र यादवको अभिव्यक्तिका विषयमा छलफल हुनेछ।
राजेन्द्र महतोको संयोजकत्वमा बस्न लागेको आजको पहिलो बैठकमा महाधिवेशनको विषयमा पनि छलफल हुने जनाइएको छ।





























