शिक्षक आन्दोलित भएपछि पनठनपाठन प्रभावित

4.94K
shares

सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ। नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो।

नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन्। आफूहरुले पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि पेनडाउन गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन्।

उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिए। “तलब नखाएर काम गर्न लागेको पाँच महीना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छ्रैनन्, उधारोमा काम कहिले सम्म गर्ने र ?”, सचिव राठौरले भने।

लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड्काले जानकारी दिए। “हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटकपटक नगरपालिकामा आफ्नो समस्या राख्यौ सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ”, शिक्षक खड्काले भने।

समयमै नगरपरिषद् नहुँदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छन्। कार्यपालिकाको बैठक पटकपटक बसे पनि सहमति हुनसकेको छैन्। नगरपालिकाभित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुनसकेको छैन।

कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीले बताए। “हामी पनि नगरपालिकाभित्रका सबै कर्मचारीको पक्षमा नै छौँ, हामीले कार्यपालिाकको बैठकमा गत आर्थिक वर्षमा सम्पन्न गरिएका क्रियाकलापको समीक्षा गरौँ भनेका छौँ, समीक्षा गर्न सहमत भए हामी नगरपरिषद् गर्न सहमत छौँ”, उपप्रमुख यरीले भने।

नगरपालिकाका प्रमुख गोविन्द पुनले छिट्टै समस्या समाधान हुने बताए। शिक्षकको मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने पुनले जानकारी दिए।