‘अन्तर्राष्ट्रिय विमानस्थलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने’
वि.सं.२०७५ मंसिर २० बिहीवार ११:१३
shares

दाङ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले समग्र दाङको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित वडा कार्यालय पुगेर महराले नारायणपुरवासीलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विरोध नगर्न अपिल गरे ।
उनले भने, “हामी कहिले पनि विकास विरोधी हुनुहुँदैन, स्थानीयवासीका समस्या समाधान गरेर विमानस्थल निर्माण गर्नुपर्छ ।” विमानस्थल बनाउँदा स्थानीयवासीको ऐलानी जग्गाको पनि मुआब्जाको व्यवस्था गरिने उनले प्रतिबद्धता जनाए।
विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्त भइसकेको जानकारी दिँदै उनले तत्काल प्रक्रियागत काम शुरु हुने पनि जानकारी दिए । नेपाल सरकारको बजेटले मात्र विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन नसक्ने उल्लेख गर्दै उनले त्यसका लागि निजी क्षेत्रको लगानी खोज्नुपर्ने धारणा राखे ।
“निजी क्षेत्रको लगानी भित्र्याएर भाडामा सञ्चालन गर्न दिने गरी निर्माण गर्नुपर्छ”, सभामुख महराले भने । उनले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न अन्तर्राष्ट्रिय दातृनिकायहरुसँग पहल गर्ने बताए ।




























