सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत

5.15K
shares

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुभारम्भ भएसँगै रोजगार दाताले योजनामा सूचिकृत प्रकृया सुरु गरिसकेका छन्। मंसीर ११ गतेबाट शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा मंसीर २० गतेसम्म १९६ वटा रोजगार दाता सूचिकृत भइसकेका छन्। योजनाको छोटो अवधिमा नै रोजगार दाता कम्पनीको सहभागिता निकै उत्साहजनक भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव नारायण रेग्मीले जनाए।

‘रोजगार दाता सामाजिक सुरक्षा योजनामा सहभागि हुन अनलाइन पद्धति अपनाइएकोले अझ सहज र तीव्र हुन्छ भन्ने विश्वास लिएका छौँ,’ उनले भने। सामाजिक सुरक्षा योजना योगदानमा आधारित सामाजिक सुरक्षा भएकोले यसमा जुनसुकै उद्योग, कम्पनी वा संघसस्था र विभिन्न स्वरोजगार कार्यमा आबद्ध व्यक्तिसमेत सामेल हुन सक्नेछन्। सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषका निर्देशक शंकर नेपालले सामाजिक सुरक्षा कोषमा साना तथा ठूला सबै प्रतिष्ठान सहभागी हुन सक्ने बताए।

निर्देशक नेपालले सामाजिक सुरक्षा योजना उपत्यकामा मात्र नभएर देशका सम्पूण स्थानीय तहबाट समेत रोजगार दाताहरु सूचिकरण गराउने बताए। सामाजिक सुरक्षा योजनामा रोजगार दाता सूचिकरण भएको ३ महिना भित्रमा उक्त रोजगार दातासँग आबद्ध सबै श्रमिकसमेत सूचिकरण गरिसक्नुपर्ने प्रावधान छ।

कोषमा आबद्ध भएसँगै निजी क्षेत्रमा आबद्ध श्रमिकलेसमेत निवृतिभरण पाउने व्यबस्था सुरु हुन्छ। सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका संस्था वा कम्पनीमा कार्यरत श्रमिकको ज्याला, सेवा सुविधा समेत सरकारले तोके बमोजिम नै हुने व्यबस्था छ।