सुन्दै अचम्म लाग्ने परम्परा : ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन
वि.सं.२०७५ मंसिर २४ सोमवार १३:२३
shares

डोटी । सुन्दा अचम्म लाग्न सक्छ। डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवीशक्ति र परम्पराका रूपमा लिने गरेका छन्। प्रत्येक तीन\तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जङ्गली जनावर, भूतप्रेत, बाढीपहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ।
डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–६ सिगरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन\तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ। आङमा देउता चढेको भन्दै एकजना झाँक्रीले ६४ वटासम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिलेसम्म कायमै रहेको छ। यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ।
बाघकै शैलीमा दाँतले बोका टोक्दा पहिलो बोका स्वयं देउता काँप्ने व्यक्तिले ल्याउँछन्। अन्य बोका गाउँका अन्य स्थानीय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ। काँपेर बोका टोक्ने झाँक्रीलाई डुणाबाघ देउताका रूपमा लिने गरेको अर्का स्थानीय श्याम रोकायाले बताए। उनले भने, “यसरी देउतालाई बोका बलि चढाए गाउँ वरपर जङ्गली जनावरको डर नहुने र मनोकामना पूरा हुने जनविश्वास भएकाले हामीले यो चलन जोगाइरहेका छौँ ।
परापुर्व कालमा गोठबाट बाघले खसीबोका खाइदिने, गोठालालाई समेत आक्रमण गर्ने जस्ता आतङ्क मच्चाएपछि स्थानीयले आफूले पुज्ने गरेको तेडी देवता र धणी देवतासँग जङ्गली जनावरबाट बचाउन हारगुहार मागेको स्थानीय सामाजिक अगुवाहरू बताउँछन्। त्यही समयदेखि तेडी देवता र धणी देवताको पूजा गर्ने क्रममा जङ्गली जवावरको आतङ्क रोक्न बचाइदिन तीन वर्षमा एकपटक डुणाबाघ देवतालाई ६४ बोका बली चढाउने परम्परा चलेको स्थानीयहरूको भनाइ छ । रासस































