यी हुन् काठमाडौंका पाकेटमार : ५० प्रहरी खटाउँदा ७७ जना पक्राउ
वि.सं.२०७५ पुस ४ बुधवार १६:४८
shares

काठमाडौं । कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’ गाडीभित्र एक छेऊमा गएर उनी उभिए ।
केहीबेरमै ७/८ जना युवकहरुको समूहले उनलाई घेरे । एउटा सिट खाली गरिदिँदै त्यहाँ बस्न भने । ‘होला त नि भनेँ ! सिटमा बसेँ’, सिंह सम्झन्छन्, ‘एउटा केटाले झोला पनि समातिदियो ।’
त्यसरी दया देखाउने युवकहरुले नै नातिको उपचारका लागि ल्याएको पैसा लुट्लान् भनेर उनले सोचेका पनि थिएनन् । तर, भइदियो त्यस्तै । जब नारायण गोपाल चोकमा उनी पुगे तब थाहा भयो, उनको गोजीमा भएको पैसा गायब भइसकेको थियो । ती युवकहरु गाडीमा थिएनन् ।
‘काठमाडौंमा यस्तो हुन्छ भन्ने थाहा पनि थिएन’, सिंह भन्छन्, ‘साहारा दिने बहानामा यहाँ लुटिँदोरहेछ ।’ ती युवकहरुले उनको साथमा भएको ७५ हजार रुपैयाँ नगदसहित एटीएम कार्ड पनि लगे । ‘पिन बिर्सिन्छु भनेर कागजमा लेखेर राखिदिएका थिए’, उनले थपे, ‘तर, त्यो पनि उनीहरुले लगेछन् ।’
बसबाट ओर्लिनेवित्तिकै उनले प्रहरीमा खबर त गरे तर, त्यतिबेलासम्म पकेटमारहरुले उनको एटीएममा भएको ३५ हजार रुपैयाँ पनि झिकिसकेका रहेछन् । ‘गाउँले मान्छे हुँ, कहाँ जाने, के गर्ने, रकम लुटिएपछि केही टुंगो लागेन’, उनले भने, ‘बच्चाको पनि पूरा उपचार गराउन पाइएन ।’
एटीएमको फुटेजबाट पाकेटमार भेटिए

काठमाडौं प्रहरी परिसरले चलाएको पाकेटमार विशेष अपरेशनका क्रममा सुरेन्द्रबहादुरलाई लुट्ने पाकेटमारहरु समातिएका छन् । उनीहरुले पैसा निकालेको एटीएमकै फुटेजमार्फत प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी रकम फिर्ता गराउन सफल भयो ।
लामाका अनुसार प्रहरीले सार्वजनिक यातायातमा हुने लुटपाट र पकेटमारीका घटनालाई नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी नै खटाएको थियो । त्यसक्रममा नगद, मोबाइल, गरगहना लगायत चोरी गर्दा गर्दै उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो । पक्राउ पर्नेमा महिलाहरू समेत थिए ।
पाकेटमारको अनेक कोड भाषा
परिसरका अधिकारीहरुका अनुसार पाकेटमारीमा संलग्नहरुले विभिन्न सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलेको छ ।
परिसर प्रमुख लामा भन्छन्, ‘सर्वाजनिक बसहरुमा २/२ जनाको दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने गरेको देखिन्छ । त्यसपछि पैसा भएको यात्रु पत्ता लगाएर अगाडि पछाडिबाट घेराबन्दी गरेर ठेलम ठेलको अवस्था बनाउने गरिन्छ ।’
त्यही मौकामा यात्रुको नगद र सरसामान चोरी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषाको प्रयोग गर्ने गरेका छन् । उनीहरुले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको प्रहरीले जानकारी दियो ।
३९ मोबाइल र १ लाख ६० हजार बरामद

एसएसपी लामाका अनुसार प्रहरीले विभिन्न क्षेत्रमा चलाएको अपरेशका क्रममा १ लाख ६० हजार ७ सय रुपैयाँ बरामद भएको छ । त्यस्तै, ३९ वटा मोबाइल, ४ वटा आइप्याड र ५ वटा ल्यापटप बरामद भएको छ ।
त्यस्तै, पाकेटमारी गर्दागर्दै समातिएका व्यक्तिहरुको साथबाट बरामद ५ लाख ९६ हजार रुपैयाँ तत्काल सम्बन्धित पीडितलाई दिइएको लामाले बताए । महानगरीय प्रहरी वृत्त, लैनचौरका डीएसपी गौतम केसीले बरामद गरिएको सामानहरुको धनी खोज्ने काम भइरहेको बताए । ‘कतिपय सामान धनीको पहिचान भइसकेको छ र बुझाएका छौं’, उनले भने, ‘तर, कतिपय सामान भने बेबारिसेझैँ छन् । पीडितहरु खोजी रहेका छौं ।’
परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुमाथि चोरी मुद्दा अन्तरगत कारबाही हुनेछ । कानुनतः पहिलो पटक पाकेटमारी गरे १ महिना जेल तथा बिगो बराबरको जरिवाना सजायँ हुनेछ भने दोस्रो पटक दुई महिनाको कैद तथा बिगो बमोजिमको जरिवाना हुनेछ ।
बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर पाकेटमारहरुलाई सार्वजनिक गरेको थियो । त्यसवेला परिसर वरिपरि पाकेटमारहरुको भीड देखिएको थियो ।
के भन्छन् एसएसपी लामा ?

लुटपाटमा संलग्न अपराधीहरुले विशेषगरी बाहिरबाट आएका व्यक्तिहरुलाई टार्गेट बनाउने गरेको पाइएको परिसरका एसएसपी वसन्त लामा बताउँछन् । पुरुषले चोरी, लुटपाटमा विशेषतः सुन्दरी महिलाहरुलाई प्रयोग गर्ने गरेको उनले बताए ।
१५ दिनमै यति ठूलो संख्यामा चोरी, लुटपाटमा संलग्न अपराधीहरुलाई पक्राउ गर्नु नेपाल प्रहरीको सफलता भन्दै एसएसपी लामा भन्छन्, ‘यातायात व्यवसायीहरुसँग सहकार्य गरी ५० जनाभन्दा बडि सादा पोसाकका प्रहरीलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न लगाएका थियौं । त्यस क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।’
पिक पकेटिङ गर्नेको जस्ताको तस्तै बयान : पहिलो
सिकेर गरेको हो । भीडभाडमा धकेलाधकेल गरेर चोरी गर्ने गथ्र्यौं । पिक पकेटिङ गरेको पैसा सबै जाँड खाएर नै सकिन्थ्यो । हामीले पिक पकेटिङ गर्ने रुट मुख्यत चक्रपथ क्षेत्र हो । ६/७ महिना अघिदेखि यो पेशा सुरु गरेको हुँ । मान्छे हेर्दैमा त्यो सँग पैसा छ कि छैन भन्ने थाहा हुन्छ । मान्छेको लवाईखुवाईबाट पनि त्यो मान्छेसँग पैसा छ कि छैन भन्ने कुरा थाहा पाउँछु ।
गाडीभित्र भीडभाड भएको अवस्थामा नजिकै रहेको मान्छेको बाहिरबाटै गोजी छाम्ने गर्थें । अनि पैसा छ भने साथीहरुलाई बोलाएर कोड भाषा प्रयोग गरि लुट्ने काम गर्थें । बाहिरी गोजी देख्दैमा पनि थाहा हुन्थ्यो पैसा छ कि छैन भन्ने कुरा ।
पिक पकेटिङ गर्नेको जस्ताको तस्तै बयान : दोस्रो
बाहिरबाट हेरिन्छ , अनि सिधै थाहा हुन्छ त्यो मान्छेसँग पैसा छ कि छैन भन्ने कुरा । पिक पकेटिङ गरेर चोरेको पैसा कोठाभाडा पनि तिर्छु, प्राय सबै खाएर नै सकिन्छ । मेरो ग्याङमा ७/८ जना छन् । २/३ वर्षदेखि यो पेशामा आबद्ध छु ।
अहिलेसम्म सबैभन्दा बढि चोरेको कुरा मलाई याद छैन् । अहिलेसम्म एटिम चाहिँ छैन् । धेरैपटक पक्राउ पर्दै छुट्दै आइरहेको छु । मैले ड्राइभर पेशा जानेको छु । तर, गाडी चलाउन जानेपनि यात्रुहरुको किचकिचले यो पेशा रोजेको हुँ । यात्रुहरुले उल्टै गाली गर्ने, तेरो बाउको गाडी हो र भन्ने गर्थें । मजदुरी गरे पनि पारा उही हो । यो काम नै मलाई सजिलो हुन्छ । दुख गरेर हिँड्ने मन नै भएन, खाली सुखमा रमाउने मात्र मन भयो ।































