लुटमा संलग्न लेडिज ग्याङ : टार्गेटमा हेन्डसम्म म्यान !

5.27K
shares

काठमाडौं । २१ वर्षीया पूर्णिमा रमेश बसेकोसिटसँगै बसिन्। युवती आफूसँगको सिटमा बसेपछि २७ वर्षका रमेश मख्ख परे। अफिस टाइम भएकाले गाडीमा यात्रु खचाखच थिए। जति ठाउँमा गाडी रोकिन्थ्यो यात्रुको चाप थपिँदै थियो। भिडले गर्दा सिटमा बसेकाहरु पनि पेलिँदै थिए। त्यो पेलाइले रमेशलाई असजिलो बनाए पनि उसले ध्यान अन्यत्रै हुँदा दुस्खी थिएन। पूर्णिमाले पनि त्यसमा कुनै असहजता महसुस गरेको नदेखाएपछि रमेश अझ लठ्ठिँदै थियो।

केही बेरमा गाडी रोक्कियो। सँगै बसेकी पूर्णिमा गाडी बाट झरिन्। रमेशको गन्तव्य आउँदै थियो। गाडी फेरि अगाडि बढ्यो। त्यही क्रममा रमेशलाई सहचालकले भाडा दिन भने। रमेश पैसा दिन खोज्दा भने झसङ्ग भए। खल्तीमा भएको पैसा गायव। युवती सँगै सिटमा बस्दा मख्ख परेका उनी उसैबाट लुटिएका रहेछन्।

फिल्मी लाग्ने यो दृश्य सतहमा त्यतिखेर आयो जब महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले पूर्णिमालाई नियन्त्रणमा लियो। प्रहरी टोलीले १५ दिनसम्म सञ्चालन गरेको पाकेटमार पक्राउ अभियानमा पूर्णिमाजस्ता ७७ जना पक्राउ गर्‍यो। पकेटमारीमा यसअघि युवकहरु समातिन्थे, यसपाला प्रहरीले ४ जना युवतीलाई पनि नियन्त्रणमा लियो। पूर्णिमा तीमध्ये एक हुन्।

सार्वजनिक सवारीमा केटाहरूलाई ‘टार्गेट’ बनाएर पकेट मार्नेक्रम बढेको परिसरका डिएसपी होमिन्द्र बोगटीले बताए। ‘भिडभाड भएको सार्वजनिक सवारीमा चढ्ने, केटा भएको सिटमा गएर बस्ने र मीठो बोली र व्यवहारले लठ्ठ बनाएर लुट्ने गरेको देखियो,’ उनले बताए।

लुटमा लेडिज ग्याङ : दैनिक लाख रुपैयाँसम्म आम्दानी

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार युवतीहरुले ग्याङ नै बनाएर लुट्दै आएका थिए। नियन्त्रणमा लिइएका चारै जना एउटै समूहका रहेको प्रहरीको दावी छ। उनीहरू चाबहिल, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा चल्ने सार्वजनिक सवारी, पसल र भिडभाडमा सक्रिय हुने गरेको डिएसपी बोगटीले बताए।

प्रहरीलाई उनीहरुले दिएको बयानमा पकेट मार्नु ‘वाध्यता’ भनेका छन्। आठ/नौं कक्षासम्म पढेपछि काठमाडौँ आएका उनीहरूले राम्रो काम नपाउँदा यो पकेटमारीमा लागेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीलाई दिएको बयानमा उनीहरूले भनेका छन्,’राम्रो काम पाइएन। काठमाडौँमा बाच्न सबैभन्दा राम्रो काम ठगी नै हो भनेर लागियो।’ उनीहरूले दैनिक १० हजारदेखि १ लाख रुपैयाँसम्म चोरी तथा पकेटमार गर्ने गरेको बताएका छन्। ‘दैनिक १० हजारदेखि १ रुपैयाँसम्म चोरेको बुझियो। कुनै पनि दिन खाली हात नहुने उनीहरूले नै बताएका छन्,’ बोगटीले बताए।

चोरीमा शङ्का नहोस् भनेर उनीहरू चिटिक्क परेको कपडा र सुहाउँदो मेकअपमा सक्रिय हुने गरेका थिए। मानिसले शंका नगरुन भनेर बच्चा समेत बोकेर पकेट मार्ने गरेको खुलेको छ। राम्री युवती देख्दैमा बुझ्दै नबुझी चाँडै नजिक नहुन समेत प्रहरीले सचेत गराएको छ।

आफ्नै चोर भाषा

पकेटमारले पैसालाई द, मोबाइललाई कान, पकेटमार पीडितलाई रामे, पैसा धेरै छ भन्नलाई टानको द पैसा, पैसा थोरै छ भने जुटको द, गाडीलाई काँचा भन्ने गरेको खुलेको छ।

त्यस्तै केटालाई छापा, केटीलाई भद्री, पुलिस आयोलाई ठूल्दाइ आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नुलाई टप्की, गाडीभित्र अगाडि सर भन्नलाई अंकल जा र गाडीभित्र पछाडि सरलाई चिछल जा भन्ने गरेको खुलेको छ। राजधानीमा मात्र करिब ५ सय पकेटमार रहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083