‘पार्टी नेतृत्व आत्मनिन्दक हुन आवश्यक छैन’ : विष्णु रिमाल
वि.सं.२०७५ पुस ५ बिहीवार १३:०१
shares

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् ।
बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रिमालले आत्मालोचना गर्नु आत्मानिन्दक हुनु भएको भन्दै यो विनम्रता देखाउन आवश्यक नभएको बताए । वर्ग संघर्ष मुख्य भएको र विरोधीहरुले सरकारविद्ध प्रचार गरेको भन्दै उनले भने, ‘यस्तो बेलामा आत्मानिन्दक हुन उचित हुँदैन । अध्यक्षद्वयको प्रतिवेदनले आफ्नै कमजोरीहरु ल्याउन सक्दैनथ्यो ।’
संक्रमणकालमा ‘रास्कल आउट’ अर्थात ‘खराब मान्छेहरु बाहिर निकाल’ हुन नसक्ने समेत उनले बताए । स्थायी कमिटी सदस्य रिमालले सामाजिक सुरक्षा कार्यक्रम घोषणा नयाँ युग नै भएको बताए ।
बैठकमा पम्फा भुसालले अध्यक्षद्वयको प्रतिवेदन मूलतः सही भएको तर, बैठकमा आएका सुझावहरुलाई समेत समेटेर पूर्ण बनाउनुपर्ने धारणा राखिन् । प्रदेश र स्थानीय तहको सरकारलाई प्रभावकारी बनाउन संयन्त्र बनाउनुपर्ने र पार्टीमा सत्तामा हुने र नहुनेबीच समानता कायम गर्नुपर्ने उनले बताइन् ।
आपूर्तिमन्त्रीसमेत रहेका मातृका यादवले यो ९ महिनामा मातृका पनि भ्रष्टाचारी भन्ने सन्देश गएको र यो आफ्नो जीवनमा पहिलोपटक भएको सुनाएका थिए । पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा विहीबार किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहोरा, लीलामणि पोखरेल, चत्रपाणि खनालले पनि बोलेका छन् ।






























