अध्यक्ष राणाको टिप्पणी : गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी

4.94K
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने, अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने, अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो रे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशी हो ?’

उनले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाइएको भन्दै कटाक्ष गरे। ‘राष्ट्रपतिलाई सुविधानै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ अब शंका जन्मिँदैछ,’ उनले भने। अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भिर आरोप लगाए। राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन्।

नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प छैन

राणाले नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको पनि दाबी गरेका छन्। उनले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रजातन्त्रवादीहरु अब एक ठाउँमा उभिनुपर्ने समय आएको पनि बताए। ‘कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको बारेमा चिन्ता गरेको देखिन्छ, तर मुलुकलाई हिन्दुराज्य बनाउनेमा कांग्रेस उभिन्छ या उभिँदैन त्यो उसको कुरा हो।

म त भन्छु प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ,’ उनले भने। अध्यक्ष राणाले वर्तमान सरकार ‘होली–वाइन’ खान र नक्कली क्रिश्चियनको काखमा सुत्न गएको पनि आरोप लगाए। उनले भने, ‘दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी ओली तीन दिनसम्म ‘होली–वाइन’ खाएर नक्कली क्रिश्चियनहरुको काखमा सुत्नुभयो, योभन्दा लाजमर्दो अर्को कुरा के हुन सक्छ ? योभन्दा धार्मिक रुपमा हामीमाथि अर्को खतरा के हुन सक्छ ?

महेन्द्र र विपी एक जंगलका दुई शेर

राणाले राजा महेन्द्र शाह र विपी कोइरालालाई एउटा जंगलका दुई शेरको संज्ञा दिएका छन्। साथै, उनले आफू र आफ्नो पार्टीले ईतिहासमा देशको लागि योगदान दिएका व्यक्ति र संस्थालाई सम्मान गर्ने पनि बताए। उनले भने, ‘२००७ सापछि नेपाली धर्तीमा दुई महान व्यक्तिहरुको उपस्थिति रह्यो, राजा महेन्द्र र विपी कोइराला, उहाँहरु एक जंगलका दुईवटा शेर हुनुहुन्थ्यो, भारत निर्वासनमा बस्नुभएका विपीले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनुभयो, राजसंस्थाबिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083