देशको बदनाम गर्दै यी तीन राजदूत, मानव तस्करदेखि रकम तस्करसम्म
वि.सं.२०७५ पुस १७ मंगलवार १६:१३
shares

काठमाडौं । राजदूतको प्रमुख जिम्मेवारी भनेको आफ्नो देशको छबि विश्वमा फैलाउने र देशको हितमा अरु देशसँग सम्बन्ध कायम राख्न भूमिका खेल्ने हो । तर, नेपालका राजदूतहरुभने देश भन्दा आफ्नो समृद्धिमा लागेका छन् र देशको भने बदनाम गराइरहेका छन् । एकपछि अर्को देशका राजदूत विवादमा परिरहेका छन् ।
पछिल्लो पटक देशलाई नै बदनाम गराएर आफू पनि विवादमा फसेकी छिन् अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा । उनलाई नेपाल बोलाएर परराष्ट्र मन्त्रालयले छानबिन गरिरहेको छ । उनीमाथि मानवतस्करी जस्तो गम्भीर आरोप लागेको छ ।
तत्कालीन माओवादी नेताहरुलाई आर्थिक प्रभावमा पारी उनी राजदूत बनेकी थिइन् । आफ्नै चालकसँग विवाद भएपछि उनको गतिविधि बाहिर आएका हुन् । तर, शेर्पाले आफू निर्दोष रहेको र चालकलाई निकालेपछि विवादमा पार्ने प्रयास गरेको बताएकी छिन् । पद जोगाउन उनी यतिबेला दौडधुपमा लागेकी छिन् ।
जसकारण छानबिन प्रतिवेदन बुझाएको एक हप्ता हुँदा पनि परराष्ट्र मन्त्रालयले उनको बारेमा निर्णय गर्न सकेको छैन । यसअघि पनि राजदूतहरु विवादमा परेका थिए । कतारलाई खुला जेल भनेको आरोपमा मायादेवी शर्मालाई पाँच वषअघि सरकारले फिर्ता बोलाउनुपरेको थियो । कृषि विकास बैंककी सामान्य कर्मचारी रहेकी उनलाई माओवादी नेताहरुले नै चलखेलका आधारमा त्यसरी राजदूत नियुक्त गर्दा देशको बेइज्जत भएको थियो ।
सन १९८८ मा अमेरिकाका लागि नेपाली राजदूत रहेका विश्व प्रधान एक लाइब्रेरीबाट मेडिकल शिक्षा सम्बन्धी दुई पुस्तक चोरीको अभियोगमा त्यहाँ स्थित कोलम्बिया प्रहरीद्वारा गिरफ्तार भएका थिए । क्रिसमसको पूर्वसन्ध्यामा राजदूत प्रधानले पुस्तक चोरी गरेका थिए । घटनापछि उनलाई नेपाल फिर्ता बोलाइएको थियो ।
अन्सारीले सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको क्षतिपूर्तिबापतको १ लाख रियाल अर्थात २० लाख रुपैयाँ आफैंले प्रयोग गरेका थिए । क्षतिपूर्तिबारे मन्त्रालय र मृतकका परिवारलाई राजदूत अन्सारीले कुनै जानकारी दिएका थिएनन् । उनीमाथि छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा उनलाई कैद सजाय समेत भइसकेको छ ।
पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन एकीकृत माओवादी र कांग्रेसको संयुक्त सरकारले कांग्रेसको कोटाबाट संयुक्त अरब इमिरेट्स (यूएई) का लागि मेनपावर व्यवसायी आशा लामालाई राजदूतमा सिफारिस गर्यो । तर त्यसको चौतर्फी विरोधपछि सरकारले सिफारिस फिर्ता लिनु परेको थियो ।
उनीजस्तै शर्मिला ढकाललाई पनि तत्कालिन फोरम९लोकतान्त्रिक०को कोटामा कुबेवका लागि सिफारिस गरिएको थियो । उनको पनि विरोध भएको थियो । तर, उनी अनुमोदन भइन् ।
राजदूत नियुक्तिमा चरम चलखेल
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि बेला बेलामा नयाँ मादपण्ड बनाउने गरेको छ । तर, राजनीतिक भागबन्डा र आर्थिक चलखेल नै राजदूत नियुक्तिको प्रमुख मापदण्ड हुने गरेको छ । देशका क्षमतावान व्यक्तिहरु छन् । तर, नेताहरुको चाकडी नगरेकाले उनीहरुलाई राज्यले चिन्दैन । जब क्षमतावान व्यक्तिले राज्यले जिम्मेवारी दिएर सम्मान गर्छ, तब न उनीहरुले देशका लागि कही गरौैं भनेर लाग्छन् ।
जो आर्थिक चलखेलका आधारमा नियुक्त हुन्छन् उनीहरु पैसा कमाउनै केन्द्रीत हुने गरेका छन् । सोही कारण कतिपय राजदूतहरु आफ्नो पदको दुरुपयोग गरी मानव तस्करीमा समेत संलग्न हुने गरेका छन् । प्रोटेकल र कन्सुलरको बारेमा न्यूनतम ज्ञान नभएकाहरु समेत राजदूत बनेर खटिए पछि उनीहरुले देशका लागि धेरै गर्न सक्ने अवस्था छैन ।
यसमा परराष्ट्र मन्त्रालयका पनि कमजोरी छन् । राजदूतलाई नियमन गर्ने प्रणाली विकास हुन सकेको छैन । मन्त्रालयका सचिवभन्दा कतिपय राजदूतहरु पावरफुल हुने गरेका छन् । त्यसो त करिअर डिप्लोम्याटका रुपमा खटिने परराष्ट्रका सहसचिवहरुको पनि पर्फमेन्स राम्रो देखिन्न । अवकाशको मुखमा राजदूत हुने भएकाले उनीहरु पनि केही गर्न भन्दा कमाउनतर्फ नै केन्द्रीत हुने गरेका छन् ।
फ्रान्सका लागि पूर्व राजदूत समेत रहेका परराष्ट्र मन्त्रालयका पूर्व सहसचिव मोहनकृष्ण श्रेष्ठ भन्छन्,‘राजदूत पदलाई सर्वाधिकार सम्पन्न भनिन्छ तर त्यो राजदूत आफ्नै दूतावासमा कसैले गल्ती ग¥यो भने निरीह हुन्छ । यस्तो अवस्थामा राजनीतिक नियुक्ति गर्नु वास्तवमा राजदूतलाई निरीह बनाउनु हो । सरकारले राजदूत पठाउँछ तर काम नै गर्न नसक्ने अवस्था भए पछि कसरी उसले काम गर्छ ? त्यसैले यस्ता कुरामा पनि सरकारले सोच्नु जरुरी । त्यसैले त्यो नीति पनि बदल्नु जरुरी छ ।
प्रतिमा र शर्मिला किन जोगिए ?
सरकारले गत साता चार देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ग¥यो । डा.चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता बोलाउने निर्णय गरिएको थियो । कांग्रेसको भागबन्डामा नियुक्त भएका उनीहरुलाई फिर्ता बोलाइएको हो ।
तर, कांग्रेसकै पालामा नियुक्त भएका अन्य दुई ‘क्षमताहीन’ निकम्मा राजदूतलाई भने फिर्ता बोलाईको छैन । जापानकी प्रतिभा राणा र ओमानकी शर्मिला ढकाल पराजुली । राणा राप्रपाको राजनीतिमा आबद्ध थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाको सासु भएकाले उनलाई राजदूत बनाइएको हो । देउवाकै आग्रह कारण उनलाई अहिले सरकारले फिर्ता नबोलाएको बालुवाटार स्रोत बताउँछ । त्यस्तै कुबेतकी राजदूत शर्मिलाले पनि नेकपाका नेताहरुलाई प्रभावमा पारेकाले उनलाई पनि फिर्ता नबोलाइएको स्रोत बताउँछ ।
उता अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि पदको नियुक्ति भने अन्योलमा परेको छ । परराष्ट्रका सहसचिवलाई त्यहाँ पठाउने तयारी भएपनि कसलाई पठाउने तय भएको छैन । परराष्ट्रसचिव शंकर बैरागीले त्यहाँ जान इच्छा देखाएका छैनन् । सिनियर सहसचिव भरतराज पौडेलले पनि जाने/नजाने निर्णय गर्न सकेका छैनन् । पौडेल परराष्ट्र सचिव हुने दाउमा पनि लागेका छन् ।
तर, पछिल्लो इन्डोनेसियाको बिज्ञप्ती प्रकरणका लागि उनी समस्यामा परेका छन् । सुनामीका कारण इन्डोनेसियामा सयौंको मृत्यु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका जनतालाई समवेदना दिएको हुनुपर्नेमा विज्ञप्तिमा ‘बधाई’ भनिएको थियो । जसले सरकारै बदनाम भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्टीकरण लिएर छानबिन थालेका छन् । विज्ञप्ति हेर्ने प्रमुख जिम्मेवारी प्रवक्ता रहेका पौडेलको भएकाले उनी समस्यामा परेका हुन् ।




























