फुलह्यामको गोलपोष्टमा आर्सनलको गोलको वर्षा
वि.सं.२०७५ पुस १८ बुधवार १३:२५
shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फुलह्याममाथि सहज जित हात पारेको छ ।
मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले फुलह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले गोल गरे । यता, फुलह्यामका लागि अबुबाकर कामराले गोल गर्न सफल भए ।
जाकाले खेलको २५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले मात्रै अघि रहेको आर्सनलले दोस्रो हाफमा भने तीन गोल गर्दा एक गोल खान पुगेको थियो ।
खेलको ५५ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा फुलह्यामका कामराले गोल गरेपछि खेल २–१ को स्थितिमा पुगेको थियो । तर त्यसको १० मिनेट पछि अर्थात खेलको ७९ औं मिनेटमा रामसेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई ४–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ४–१ गोलको स्थितिमा टुंगिएको हो ।
जितपछि आर्सनलले २१ खेलबाट ४१ अंक बनाएको छ । आर्सनल लिगको पाँचौं स्थानमा छ । पराजित फुलह्यामको भने २१ खेलबाट १४ अंक रहेको छ । त्यस्तै, अर्को खेलमा भने लेष्टर सिटीले एभर्टनलाई १–० गोलअन्तरले पराजित गरेको छ ।
































