वाइडबडीमा अनियमितता प्रकरण : पैसा दिने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमाथि पनि प्रश्न
वि.सं.२०७५ पुस २० शुक्रवार ११:१२
shares

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरीदका सम्बन्धमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमाथि समेत प्रश्न उठेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति मातहत गठित छानबिन उपसमितिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले हचुवाका भरमा निगमलाई ऋण दिएको भन्दै प्रश्न उठाएको हो ।
उपसमितिले समितिमा पेश गरेको प्रतिवेदनमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले वाइडबडी विमान खरीद प्रक्रियाका बारेमा नबुझिकनै हचुवाका भरमा ऋण प्रवाह गरेको उल्लेख गरिएको छ ।
‘वायु सेवा निगम सञ्चालक समितिको विमान खरीद प्रक्रिया र गतिविधिको अध्ययन र विश्लेषण नगरी हचुवाका भरमा ऋण प्रवाह गरेकाले सो कार्यमा संलग्नलाई सचेत गराउन नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई निर्देशन दिने र भविष्यमा सञ्चयकर्ताको सञ्चित रकम सुरक्षा र सुरक्षित लगानी सम्बन्धमा उपयुक्त नीति निर्धारण गर्न निर्देशन दिने,’ उपसमितिले समितिमा पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन -२०७४ सार्वजनिक भइसकेपछि र सो प्रतिवेदनले विमान खरीद प्रक्रिया कानूनसम्मत नदेखिएको उल्लेख गरेको कुरालाई समेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले बेवास्ता गरेको र अन्तिम किस्ता रकम वायुसेवा निगमलाई उपलब्ध गराएकाले त्यसमा संलग्न व्यक्तिलाई सचेत गारउनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।




























