पाँच वर्षअघिको फोटोमा बमजनसँगै भेटिए बेपत्ता आनी

6.54K
shares

काठमाडौं । प्रहरीले खोजी गरिरहेका दुई आनी बेपत्ता हुनुअघि तपस्वी भनिएका रामबहादुर बमजनसँगै देखिएको प्रमाण प्रहरीले फेला पारेको छ। नुवाकोटकी चुन्मा भनिने चिनिमायाँ तामाङ र मकवानपुरकी फुलमाया रुम्बा पाँच वर्षअघि बमजनसँगै उभिएको फोटो पनि प्रहरीले भेटेको छ। उनीहरु दुबैजना सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा बमजनसँगै देखिएका थिए।

प्रहरीका एकजना उच्च अधिकारीका अनुसार चिनिमायाँ र फुलमाया बमजनको सिन्धुपाल्चोक र म्याग्दी यात्राको समयमा सँगै देखिएका थिए। दुबैजना २०७० को कार्तिक र फागुनमा बाँडेगाउँ आश्रममा देखिएका थिए। प्रहरीले बमजनको सिन्धुपाल्चोक र सिन्धुली आश्रममा पछिल्ला पाँचदिनदेखि छानविन गरिरहेको छ। ‘उनीहरूलाई बेपत्ता बनाइएकोे भन्ने परिवारका सदस्यको निवेदनमा उल्लेख भएकै समय आसपासमा दुई युवती बमजनसँगै देखिएका छन्, ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोक आश्रमबाट फुलमाया रुम्बा पासाङ हराएको भन्दै खोजिदिन भाई विजय रुम्बाले निवेदन दिएका छन्। उनको निवेदनमा भनिएको छ, ‘करिब १० वर्षअघि नेवारपानी आश्रममा आनी बन्न जानुभएकी दिदी २०६८ मा बारा र त्यसपछि सिन्धुपाल्चोक जानु भएको थियो, २०७१ माघदेखि अत्तोपत्तो छैन। विजयले दिएको निवेदनमा फुलमायासँग अन्तिम पटक २०७१ माघमा सम्पर्क भएको उल्लेख छ। फुलमायाले त्यसबेला विजय बाहेक छरछिमेकीसँग समेत कुरा गरेकी थिइन।

लामो समय दिदीको खबर नआएपछि विजयले आश्रममा सोधखोज गरेका थिए। आश्रमले उनी छाडेर हिंडेको जवाफ दिँदै आएको छ। यस्तै नुवाकोट प्रहरीमा परेको निवेदनमा ‘घर आएकी फुलमाया सिन्धुली आश्रम जान्छु’ भनेर हिँडेको उल्लेख छ । नुवाकोट मेघान गाँउपालिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन। चुन्मा र कर्माको नामले चिनिने उनी तपस्वी बमजनको आश्रममा आनी थिइन। नुवाकोट प्रहरीमा दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएकी हुन्।

डिएसपीको कमाण्डमा ४५ प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले डिएसपीको कमाण्डमा ४५ प्रहरी परिचालन गरी बमजनको बाँडेगाउँ आश्रममा छानविन गरिरहेको छ। सदरमुकाम चौताराबाट ५ घण्टा टाढा रहेको आश्रममा प्रहरी टोलीले तीन दिनदेखि सोधपुछ र खोजी गरिरहेको हो। सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले हराएका व्यक्तिको खोजी जारी रहेको बताउँदै केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली भने फिर्ता भएको जनाए।

‘हामीले आवश्यक सोधपुछ र खोजी जारी राखेका छौं,’ एसपी मरासिनीले भने ‘केही शंकास्पद वस्तु फेला परेका छन् । सिन्धुपाल्चोक प्रहरीले ८० रोपनी क्षेत्रफलमा फैलिएको बाँडेगाउँ आश्रमका साथै आसपासको ५ सय मिटर क्षेत्रफलमा खोजी गरिरहेको हो। बमजनको आश्रमबाट २०६९ देखि २०७२ बिचमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ। बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका हुन्।

शव उत्खन्नमा सहयोगी कुकुर तयारी अवस्थामा

प्रहरीले बमजनको आश्रमबाट हराएका व्यक्तिको खोजीका लागि तालिमप्राप्त कुकुर प्रयोग गर्ने भएको छ। केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलले ‘सर्च एण्ड रेस्कयु’ मा प्रयोग हुने कुकुर तयारी अवस्थामा राखेको हो। स्कुलकी प्रमुख एसएसपी देउती गुरुङले प्रहरीसँग वर्षौं पुरानो शव उत्खन्नमा सहयोगी भएका कुकुर तयारी अवस्थामा राखेको बताइन। उनका अनुसार यी तालिम प्राप्त कुकुरले हराएका व्यक्तिको नङ, कपाल र कपडा सुँघेर गाडेको शव पत्ता लगाउन सक्छन्।

‘अहिलेसम्म कुकुरको प्रयोग गरिएको छैन,’ एसएसपी गुरुङले भनिन्, ‘हामीसँग माग हुनासाथ खटाउन तयारी अवस्थामा राखखेका छौं।’ गुरुङका अनुसार यी कुकुरहरुले यस्ता घटनाको यसअघि समेत अनुसन्धानमा सघाएका सफल उदाहरण छन्। सिन्धुपाल्चोक प्रहरीले आवश्यक प्रारम्भिक अनुसन्धानपछि मात्र उपकरण मगाउने तयारी गरिरहेको छ। शनिबारको खोजमा केही शंकास्पद वस्तु फेला पारेको प्रहरीले त्यसको परिक्षणपछि मात्र थप अनुसन्धान उपकरण मगाउने तयारी गरेको छ।

‘हामीले केही स्थानमा शंकास्पद वस्तु फेला पारेका छौं,’ एसपी मरासिनीले भने ‘त्यसको परिक्षणपछि अनुसन्धानमा आवश्यक साधन, स्रोत र उपकरण प्रयोगमा ल्याउने छौं। उता सिन्धुलीको सिलामेस्थित आश्रममा रहेका रामबहादुर बमजन प्रहरी निगरानीमै छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आश्रमलाई निगरानीमा राख्ने क्रममा त्यहाँ बसेका र आउनेजाने व्यक्तिको विवरण राख्न थालेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083