कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

6.27K
shares

किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन्। गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो। राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए।

निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गरे। उनले हिंसाहत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गर्नुभएका राष्ट्रपति जोसेफ काबिलालाई “लोकतान्त्रिक परिवर्तनका साझेदार” का रुपमा हेर्न आमजनता समक्ष आग्रह गरे।

निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका थिए। यस पटकको चुनावमा विगत १८ वर्षदेखि राष्ट्रको नेतृत्व गरेका राष्ट्रपति काबिला उम्मेदवार बनेका थिए। “चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,” फायुलुले रेडियो फ्रान्स इन्टरनेसनलसँग भने।

खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा काबिलाको सत्तारोहणपछिका दुई वर्षसम्म ठूलो सङ्कट देखिएको थियो। हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन। “कूल खसेको मतको करिब ३९ प्रतिशत मत पाएसँगै फेलिक्स शिशेकेडी कङ्गोको राष्ट्रपतिमा चयन हुनुभएको छ,” स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले भने।

बिहीबार बिहान चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ सर्वत्र खुशीयाली व्यक्त गर्न थालिएको छ। “म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। आजदेखि हामीले उनलाई कहिल्यै बैरीका रुपमा हेर्ने छैनौं। उहाँलाई हामी मुलुकको लोकतान्त्रिक परिर्वतनमा साझेदार ठान्नेछौं,” शिसेकेडीले यूडीपीएस पार्टीको मुख्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने।

राष्ट्रपति जोसेफ काबिलाको पनि समर्थन रहेका इम्मानुएल रामाजानी शाडारीले तेस्रो स्थान प्राप्त गरेका थिए। उनले करिब २४ प्रतिशत मत प्राप्त गरे। चुनाव आयोगका अनुसार अन्तिम नतिजा जनवरी १५ मा घोषणा गरिनेछ। त्यसको तीन दिनपछि नवनिर्वाचित राष्ट्रपतिलाई सपथ गराइनेछ। मतगणनामा निकै ढिलाई भएपछि अनेक आशङ्का व्यक्त गरिएका थिए। चुनावी नतिजालाई लिएर हिंसा भड्किने आशंकामा राजधानी किन्सासाका सडकमा प्रहरीको बाक्लो उपस्थिति थियो।

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका भए। उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस) का प्रमुख हुन्। यो दल उनकै बुबा इटीनले स्थापना गरेका हुन्। इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व थिए। चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनस्र्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गरेका छन्।