५ करोड कमिसन मागेपछि मेलम्ची छाडेर भागेको इटालियन कम्पनी फर्किएन, पानी काठमाडौं आइपुग्न अझै २ वर्ष लाग्ने !
वि.सं.२०७५ पुस ३० सोमवार १७:३०
shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको प्रमुख ठेकेदार इटालियन कम्पनी सीएमसी काममा नफर्किने भएको छ । गत मंसिर २९ गते आयोजनास्थल छाडेर प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोली भागेपछि परियोजनामा अन्यौलता थपिएको थियो ।
क्रिसमस मनाउन भनेर इटाली फर्किन लागेका उनीहरूलाई आयोजना अलपत्र पारेर भाग्न खोजेको भन्दै सरकारले नियन्त्रणमा समेत लिएको थियो । पछि काममा फर्किने शर्तमा उनीहरू इटाली उडेका थिए । तर इटाली गएपछि प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोली सम्पर्कविहीन भएको खानेपानी मन्त्रालय स्रोतले जानकारी दियो ।
‘हामीले उनीहरूलाई विभिन्न चरणमा इमेलमार्फत पत्र पनि पठाएका छौं । तर उनीहरूले कुनै पनि इमेलको जवाफ पठाएका छैनन्, खानेपानी मन्त्रालय स्रोतले भन्यो, ‘अब उनीहरू नफर्किने निश्चित भएको जस्तो देखिन्छ ।
सरकार धरौटी जफत गर्ने योजनामा
इटालियन कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य र सहायक बाँध बनाउने, सुरुङभित्र सटकिट राख्ने, सुरुङभित्र ढलान गर्ने, सुरुङ भित्रको हावा पास गराउनका लागि ३ ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने, सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पु¥याउनका लागि स्टील र डीआई पाइप राख्ने तथा सुन्दरीजलमा सुरुङभित्रको सफाइका लागि फ्लस आउटको संरचना बनाउने ठेक्का पाएको थियो ।
जसमध्ये उसले सुरुङ खन्ने, सुरुङभित्र सटकिट राख्ने, ढलान गर्ने काम सम्पन्न गरिसकेको थियो । सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पु¥याउनका लागि स्टील र डीआई पाइप राख्ने तथा सुन्दरीजलमा सुरुङभित्रको सफाइका लागि फ्लस आउट बनाउने काम चलिरहेकै बेला सीएमसीले आयोजनास्थल छाडेको थियो ।
सीएमसीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौताअनुसार गर्नुपर्नेमध्ये ७८ प्रतिशत काम सकेको थियो । बाँकी २२ प्रतिशत काम नसक्दै उसले लगभग ठेक्का तोडिसकेको छ । सीएमसीले ठेक्का तोडेको औपचारिक घोषणा नगरेपनि सरकारले भने उसको धरौटी जफतको प्रक्रिया शुरू गरिसकेको छ । सीएमसीका ठेकेदारले आयोजनास्थल छाडेकै समयमा सरकारले उसको साढे २ अर्ब रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया शुरू गरेको थियो ।
तर सीएमसीले पुस ४ गते पाटन उच्च अदालतमा रिट दायर गर्दै धरौटी जफतको कार्य रोक्न अन्तरिम आदेश माग गरेको थियो । रिटको प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले तत्काल धरौटी रोक्का नराख्न आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षको छलफलपछि सीएमसीको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको थियो । पछि पुस १२ गते न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र न्यायाधीश कृष्णबहादुर थापाको इजलाशले सीएमसीको माग अनुसार अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको थियो ।
उच्च अदालतको आदेशपछि सरकारलाई बैंक ग्यारेन्टी जफत गर्ने बाटो खुलेको थियो । अदालतको आदेशपछि सीएमसीको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया अगाडि बढिसकेको खानेपानी मन्त्रालय स्रोतले जानकारी दियो । खानेपानी मन्त्रालयले सीएमसीको बैंक ग्यारेन्टी जफत गरी उसले नियुक्त गरेका सहायक ठेकेदार र मजदुरले पारिश्रमिकबापत पाउनुपर्ने रकम तिर्ने जनाएको छ । आफूले नै नियुक्त गरेका सहायक ठेकेदार कम्पनीलाई पनि सीएमसीले भुक्तानी नदिएको भेटियो, करीब २ जना मजदूरले पनि विगत ३ महिनादेखि पारिश्रमिक नपाएको कुरा आएको छ,’ खानेपानी मन्त्रालयका एक अधिकारीले भने, ‘सीएमसीको बैंक ग्यारेन्टी जफत गरी सहायक ठेकेदार र मजदूरको पारिश्रमिक तिर्न पुग्ने देखिन्छ ।
२ अर्ब बराबरको काम अझै बाँकी
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायत निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समिति र सीएमसीबीच ३१ असार २०७० मा ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदा सीएमसीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँमा ठेक्का सम्पन्न गर्ने भनिएको थियो । तर विभिन्न समयमा अग्रिम भुक्तानी र क्षतिपूर्ति भन्दै सीएमसीले १० अर्ब ५३ करोडभन्दा बढी रकम लिइसकेको छ ।
ठेक्का सम्झौताभन्दा २ अर्ब ८१ करोड रुपैयाँ बढी भुक्तानी खर्च भइसकेको मेलम्चीको सुरुङ, बाँध लगायतको निर्माणमा थप २ अर्ब रुपैयाँ लग्ने देखिएको छ । सीएमसी कम्पनीले ठेक्का रद्द गर्ने लगभग पक्का भइसकेपछि सरकारले बाँकी रहेको कामको लागत अनुमान गरिरहेको छ । परामर्शदाता कम्पनी इप्टिसाले गरेको अध्ययनअनुसार अब प्रमुख बाँध (हेड वर्क्स, भेन्टिलेशन साफ्ट, अडिट टनेलको गेट, सेन्सर क्यामेरा राख्ने तथा फ्लस आउट बनाउनका लागि थप २ अर्ब रुपैयाँ लाग्ने देखिएको हो ।
‘सीएमसीले काम छाड्ने लगभग निश्चित भइसकेको छ । हामीले अहिले बाँकी कामको अध्ययन गरेर अब काम गर्न लाग्ने समय र बजेटको इस्टिमेट बनाइरहेको छौं,’ मेलम्ची खानेपानी आयोजनाका एकजना अधिकारीले भने, ‘परामर्शदाता कम्पनी इप्टिसाले अझै २ अर्ब रुपैयाँ बजेट र सबै काम सक्न डेड वर्षको समय लाग्ने भनेको छ ।
मेलम्ची आयोजनामै कार्यरत प्राविधिकहरू तुरुन्तै अर्को ठेकेदारलाई निर्माण गर्ने जिम्मा दिए सबै काम सम्पन्न हुन अझै २ वर्ष लाग्ने बताउँछन् । ‘नयाँ ठेकेदारको खोजी गरेर तत्काल काम शुरू गरियो भने पनि मुख्य र सहायक बाँध बनाउन डेढ वर्षको समय लाग्ने देखिन्छ,’ मेलम्ची खानेपानी आयोजनाका एकजना इन्जिनियरले भने, ‘बाँकी रहेका अन्य सामान्य काम सकेर नियमित रूपमा पानी ल्याउन २ वर्ष समय लाग्ने देखिन्छ ।




























