सचिवमाथि कुटपिट काण्ड : ‘गल्ती गर्नेलाई कारबाही हुन्छ’
वि.सं.२०७५ पुस ३० सोमवार १७:२८
shares

काठमाडौँ । कर्मचारी संघ, संगठनहरूले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापनपत्र बुझाउँदै सचिव झामाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गरेका हुन्।
आइतबार मन्त्री यादवले सचिव झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए। सो घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरूले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आफूहरूसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन केन्द्रिय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कारबाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाइएको बताए।
कर्मचारीहरूमाथि पटकपटक दुर्व्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरूले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। उपाध्यक्ष पोखरेलले कार्य क्षेत्रमा कर्मचारीहरूको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
यता, मन्त्री पण्डितले भने सो घटनामा गल्ती गर्नेमाथि कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। उनले सो घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ को सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै सो प्रतिवेदन आएपछि दोषीमाथि कडा कारबाही गर्ने बताएका हुन्। मन्त्री पण्डितले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकी नराख्ने पनि स्पष्ट पारे।
मन्त्री पण्डितले सो घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।
उनले सो घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरूलाई सचेत गराए। त्यस अवसरमा मन्त्री पण्डितले कार्य क्षेत्रमा कर्मचारीहरूको सुरक्षा दिने कुरामा ढुक्क हुन पनि कर्मचारी संघ, संगठनका नेताहरूलाई आग्रह गरे। प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको घटनाप्रति सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका छन्।




























