एन्फामा भएको अनियमितताबारे अख्तियारद्धारा छानबिन शुरु
वि.सं.२०७५ माघ १ मंगलवार १६:३३
shares

काठमाडौं । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।
आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन शुरु गरेको जानकारी दिए । उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उहाँले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन गर्न पत्र पठाइएको जानकारी दिए । ‘हामी छानबिनको प्रारम्भिक चरणमा छौँ, अहिले नै भ्रष्टाचार भयो भनेर भन्न मिल्दैन, छानबिनपछि सबै कुरा बाहिर आउँछ’, प्रवक्ता कोइरालाले भने ।
गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनको निर्वाचनका क्रममा आर्थिक अनियमितता भएकोलगायत विभिन्न आरोप लगाउँदै आएका चार जिल्ला फुटबल सङ्घले केही दिनअघि अख्तियारमा उजुरी दिएका थिए । उजुरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको छ ।
यो पनि पढ्नुहोस् –
एन्फामा भएको भ्रष्टाचार प्रकरण : तत्काल छानबिन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
गत पुस १७ गते फुटबल सङ्घ काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए । यसैबीच एन्फाले वर्तमान नेतृत्वमाथि शृङ्खलाबद्ध आरोपहरू आउन थालेकामा चिन्ता व्यक्त गर्दै आरोप पुष्टि गर्न चेतावनी दिएको छ । एन्फा प्रवक्ता किरण राईले भने, ‘आरोप लगाएर मात्र हुँदैन प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित भए कारवाही भोग्न तयार छौँ, अन्यथा जिल्ला फुटबल सङ्घहरूमाथि नै कारवाही हुन्छ ।’
एन्फाले आफूमाथि लागेको आरोपसहित विभिन्न १० एजेण्डामा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक यही माघ ३ गते बोलाएको छ । कार्यसमिति बैठकमा विराटनगरमा आगामी फागुनमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसीप, महिला टोलीको पुरस्कार, मोफसलमा हुने फुटबल प्रतियोगिताको वर्गीकरणलगायत विषयमा छलफल हुने प्रवक्ता राईले बताए ।




























