अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ह्याप्पी बेबी जोन’
वि.सं.२०७५ माघ १२ शनिवार १६:३२
shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ। विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री तथा बाहिरी सुधारका काम धमाधम भइरहेको छ।
नेपालको परम्परागत, कला र संस्कृति झल्कने वस्तुको सजावटदेखि भवनभित्रका विभिन्न कक्षमा नयाँ कार्पेट विछ्याउनुका साथै बाहिरी सौन्दर्यको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको विमानस्थलले जनाएको छ। बुटिक विमानस्थलको अवधारणाअनुरुप विमानस्थल सुधार र साज सज्जावटको काम तीव्र रुपमा भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। जहाजबाट ओर्लेपछि टर्मिनल भवनको बाहिरतर्फको क्षेत्र तथा विमानस्थलको गोल्डेनगेट र पार्किङ क्षेत्रमा आकर्षक बगैँचा निर्माण गरिँदैछ।
केही दिनअघि होटल एशोसिएशन अफ नेपाल (हान) को सहयोगमा विमानस्थल प्रवेश गर्ने गोल्डेनगेट नजिकै दुबैतर्फ कलात्मक चौतारा उद्घाटन गरिएको थियो। टर्मिनल भवन अगाडिको अव्यवस्थित पार्किङ हटाई त्यहाँ सुन्दर बगैँचा बनाउने काम अघि बढाइएको छ। यसैबीच विमानस्थलमा पहिलो पटक ‘ह्याप्पी बेबी जोन’ तथा ‘लस्ट एण्ड फाउण्ड युनिट’ को स्थापना गरिएको छ।
सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको महाप्रबन्धक क्षेत्रीले बताए। उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाजको पर्खाइमा रहेका बेला बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको बताए।
यो कक्षमा जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमाहरुलाई आराम गर्न प्रयोग गर्न सकिनेछ। बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ। विमानस्थलमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको बेबी जोन हिमालय हर्बलको सहयोगमा स्थापना भएको हो। यस्तै, विमानस्थलमा हराएका सामग्री खोज्न र भेटिएको सामग्री राख्न लस्ट एण्ड फाउण्ड युनिट खडा गरिएको छ।
महाप्रबन्धक क्षेत्रीका अनुसार यात्रुले छाडेका सामग्रीलाई सो युनिटले सम्बन्धित व्यक्तिलाई खबर गर्ने र हराएका सामग्री खोज्न सहयोग गर्ने उद्देश्यले लस्ट एण्ड फाउण्ड युनिट बनाएको हो। भेटिएका सामग्री तत्कालै विमानस्थलको वेबसाइटमा राखिने र टेलिफोनमा जानकारी गराइने छ।




























