प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण, नाम र राजधानी अझै अनिर्णित
वि.सं.२०७५ माघ २२ मंगलवार १२:२३
shares

धरान। प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो ।
सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए। प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उनका भनाइ थियो। हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ ।
प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहेका छन्। जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६७, (पूर्वएमाले ५१, पूर्वमाओवादी केन्द्र १६) नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक÷एक रहेका छन्। प्रदेश नम्बर एकमा नेकपाको दुई तिहाइ बहुमत छ। तर अहिलेसम्म एक नम्बर प्रदेशले स्थायी राजधानी र प्रदेशको नामाकरण गर्न सकेको छैन।




























