विश्व कीर्तिमान राखेका कामीरिता २३ औं पटक सगरमाथा चढ्दै

6.36K
shares

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सोलुखुम्बुका कामीरिता शेर्पा आउँदो वसन्तकालमा फेरि आरोहणमा जाने भएका छन् । शेर्पाले फागुनपछि सुरु हुने वसन्तकालीन सिजनमा आफू सगरमाथाको २३ औं आरोहण गर्न तयार रहेको बताए । ‘यसपालि २३ औं पल्ट सगरमाथा चढदै छु,’ उनले भने, ‘सबै तयारी करिब–करिब सकिइसकेको छ । मार्च अप्रिलमा सगरमाथातिर लाग्छु होला ।’

गत वर्ष जेठमा २२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका शेर्पाले आफू काठमाडौंस्थित सेभेन समिट ट्ेरक्स कम्पनीसँग अनुबन्धित भएको बताए । ‘सेभेन समिटले मलाई वार्षिक ३० हजार डलरमा अनुबन्ध गरेको छ,’  उनले भने, ‘यो रकममध्ये २० हजार डलर सगरमाथाका लागि हो भने १० हजार डलर मनास्लु हिमाल आरोहणका लागि हो । सेभन समिटसँग कामीरिताको दुई वर्षको अनुबन्ध छ । यो सम्झौता अबको हिउँद याममा सकिनेछ ।

सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढ्नेछन् । कामीरिता यसअघि अमेरिकन कम्पनी अल्पाइन एसेन्टमा थिए । सेभेन समिट ट्रेक्सले ३० हजार डलरको अफर गरेपछि उनले कम्पनी बदलेका हुन् । आरोहण गराउने ट्रेकिङ कम्पनीहरू शेर्पाहरूलाई ७ लाखदेखि माथि अफर गर्छन् ।

केही वर्ष अघिसम्म शेर्पाहरूले एउटा आरोहणका लागि २/३ लाख रुपैयाँ मात्रै कमाउँथे । ‘सगरमाथा चढेर फर्केपछि अमेरिका जाने कार्यक्रम छ,’ कामीरिताले भने, ‘तलतिर (अमेरिका) को नागरिकता लिन मन छैन तर भिजिट भिसामा हरेक वर्ष गइरहन्छु होला ।’ ४९ वर्षीय कामीरिताले आफू नेपाल छाडेर बिदेसिने मुडमा नभएको बताए । गत वर्ष २२ औं पटक सगरमाथा आरोहणपछि उनी एक महिना अमेरिका घुमेर फर्केका थिए ।

Image result for कामीरिता शेर्पा

गत वर्षसम्मको सरकारी तथ्यांकअनुसार ५ हजार हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन् । पछिल्ला वर्ष ४ सय हाराहारी आरोही सगरमाथा उक्लिन्छन् ।

२०७३ सम्म २१ औं पटक सगरमाथा आरोहण गर्नेमा आप्पा शेर्पा र फुर्बा तासी शेर्पा थिए । सबैभन्दा पहिले आप्पा शेर्पाले २०६८ मा र फुर्बा तासीले २०७० मा २१ औं पटक आरोहणको रेकर्ड बनाएका थिए । यी दुईकै हाराहारीमा कामीरिताले ०७४ मा २१ औं पटकको रेकर्ड राखेका थिए भने ०७५ जेठमा आफ्नै गाउँका दाजुभाइ आप्पा र फुर्बा तासीको रेकर्ड ब्रेक गर्दै उनी विश्वकै अग्लो चुचुरोमा सर्वाधिक पुग्ने आरोही बनेका थिए ।

२४ वर्षको उमेरमा २०५१ देखि हिमाल उक्लिन थालेका उनले पाकिस्तान र भारतको सीमामा रहेको केटु हिमाल पनि आरोहण गरिसकेका छन् । उनले ल्होत्से एक पटक, मनास्लु २ पटक र छोयु ८ पटक आरोहण गरिसकेका छन् । उनी दुई सन्तान, पत्नीसहित काठमाडौंको चाबहिलस्थित भृकुटीचोकमा डेरामा बस्दै आएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083