मुस्लिम राष्ट्र युएईमा पोप फ्रान्सिसको ऐतिहासिक भ्रमण

4.97K
shares

अबुधाबी । अरब मुस्लिम राष्ट्र युनाइटेड अरब इमिरेट्सको अबुधाबी रङ्गशालामा मङ्गलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्। रङ्गशाला भित्र र बाहिर गरी करिब एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बी भेला हुने अपेक्षा गरिएको छ। जायाद स्पोर्ट्स सीटी रङ्गशालामा प्रवेश गर्नुहुँदा पोप फ्रान्सिसलाई त्यहाँ उपस्थित ठूलो जनसमूहले भ्याटिकनका झण्डा र ब्यानरले स्वागत गरेका थिए।

उनी रङ्गशालामा प्रवेश गर्दा मोटरमा सवार थिए। युनाइटेड अरब इमिरेट्सको छिमेकी मुलुक साउदी अरेबिया हो। साउदी अरेबिया इस्लाम धर्मको जन्मस्थल पनि हो। तर ठूलो छिमेकी मुलुक साउदीमा गैर–मुस्लिमलाई सार्वजनिक स्थलमा प्रार्थना गर्न समेत प्रतिबन्धित गरिएको छ। अबुधाबीमा भने इसाई समुदायका व्यक्तिलाई प्रार्थना गर्न छुट दिइएको छ। सबै धर्मप्रति युएई उदार मानिएको छ।

फ्रान्सिसले मङ्गलबार नै युएईको तीनदिने भ्रमण पनि समाप्त गर्दै छन्। पोपमा नियुक्त भएसँगै पोप फ्रान्सिसले इसाई धर्मका कट्टर विरोधी मुस्लिम विश्वमा समेत भाइचारा सम्बन्ध विस्तार गरेका छन्। रङ्गशालामा करिब ५० हजार क्याथोलिक समुदायका व्यक्तिहरुले पोप फ्रान्सिसलाई स्वागत गरेका थिए। उक्त समारोहमा केही यमनका इसाई धर्मावलम्बी पनि सहभागी थिए।

झण्डै एक लाख २० हजार अरु रङ्गशाला बाहिर भेला भएका थिए। उनीहरुले भिडियो सेवाबाट रङ्गशाला भित्रका गतिविधि हेरेका थिए। युएईले “सहिष्णुता वर्ष २०१९” को अवसर पारेर पोप फ्रान्सिसलाई आफ्नो मुलुकको भ्रमणमा निम्त्याएको हो। सहिष्णुता मन्त्री शेख नाहयान बीन मुबारकले पोप फ्रान्सिस रङ्गशालामा प्रवेश गर्नुअघि उपस्थित धर्मावलम्बीलाई स्वागत गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083