प्रहरीलाई सय रुपैयाँ घुस दिन खोज्दा सवारी चालक पक्राउ
वि.सं.२०७५ माघ २४ बिहीवार १५:४०
shares

काठमाडौं । प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने ललितपुर लेलेका २० वर्षीय प्रचण्ड रामजाली मगरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
बा.४ ख १७६ नम्बरको मिनि टिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भनी चालक मगरले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए । यस्तै काठमाडौं महानगरपालिका–१४ कलंकी ढुंगे अड्डास्थितबाट प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने धादिङ थाक्रे गाउँपालिका–२ बस्ने ३५ वर्षीय केदार मल्ल पनि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा चालक मल्लले कागजपत्र नभएको भनी प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका हुन् । पछिल्लो समय प्रहरीले घुस दिन खोज्ने चालकमाथीको कारवाही तिब्र पारेको छ ।






























