नेपालका ३ क्रिकेटर आइसिसी टि–२० वरियतामा
वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:४५
shares

काठमाडौं । नेपालका तीन क्रिकेटर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा परेका छन्। आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन्।
वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औँ स्थानमा उक्लिएका छन्। ७६ अकं पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो। अघिल्लो महिना पारस ४० औँ स्थानमा रहेका थिए। उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२ औँ स्थानमा उक्लिएका छन्।
अघिल्लो महिना पारस ९० औँ स्थानमा थिए। युएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन्। अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५० औँ स्थानमा रहेका छन्। यसअघि सोमपाल ५१ औँ स्थानमा थिए। त्यस्तै समान ४० अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१ औँ स्थानमा छन्।










