पशुपतिमा महाशिवरात्री सुरक्षा : गाँजामा प्रतिबन्ध, १० रुटमा सवारी साधन प्रवेशमा निषेध!
वि.सं.२०७५ फागुन १९ आइतवार १२:४३
shares

काठमाडौं। पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रि मा सुरक्षालाई मध्यनजर गर्दै ४३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल प्रहरीले ३ हजार प्रहरी नियमित पोशाकमै कार्य क्षेत्रमा खटाउने छ भने सादा पोशाकका प्रहरी पनि परिचालन हुनेछन्। नेपाल प्रहरीका अलावा शसस्त्र प्रहरी पनि पशुपतिमा सुरक्षाका लागि परिचालन हुनेछ। सशस्त्र प्रहरीका डिआइजी सुरज श्रेष्ठका अनुसार सशस्त्र प्रहरी पनि पशुपति क्षेत्रमा एसपीको कमाण्डमा १३ सय सशस्त्र प्रहरी सुरक्षाका लागि खटिनेछन्।
महानगरीय प्रहरी कार्यालय रानी पोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार दर्शनार्थीलाई व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। डिआइजी क्षेत्रीले भने, ‘‘आवश्यक सबै सुरक्षाको प्रबन्ध गरिएको छ। सबैले सुरक्षित तरिकारले दर्शन गर्न पाउनेछन्।’’ पकेटमारी, चोरी लगायतका सम्भावित घटनाहरुलाई मध्य नजर गर्दैै सादा पोशाकमा समेत उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको उनले बताए। प्रहरी बाहेक पशुपति क्षेत्र विकास कोषको समवन्यमा स्वयंसेवक लगायत अन्य पनि मेलालार्ई व्यवस्थित गर्न सघाउने छन्।
पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा लगायत नशालु पदार्थ पूर्ण रुपमा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको डिआईजी क्षेत्रीले बताए। उनका अनुसार दर्शनका क्रममा कुनै असहज भएको अवस्थाका लागि ठाउँ-ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्स, प्राथमिक उपचार लगायतको टोली तैनाथ गरिएको छ। दर्शनका क्रममा दर्शनार्थी माथि दुर्व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिइने पनि डिआइजी क्षेत्रीले बताए।
देश-विदेशका लाखौं भक्तजनले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्ने गरेका छन्। पशुपतिमा देश–विदेशबाट गरी झण्डै १० लाख भक्तजनले दर्शन गर्ने अनुमान छ। आइतबार बिहान सम्म पशुपति क्षेत्रमा छ हजार बढी साधुसन्त आइपुगेको बताइएको छ। शिवरात्री मेला भर्नकै लागि भारत, श्रीलंका, बंगलादेशबाट पनि साधुसन्त आएका छन्। आइतबार साँझ सम्म साधुसन्त थपिने अनुमान छ।
यस्तै शिवरात्रीको अवसर पारेर महानगरीय ट्राफिक महाशाखाले १० ओटा रुटमा पूर्ण रुपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। रोक लगाएका स्थानमा चावहिलबाट गौशाला तर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ लगायत रहेका छन्।
हेर्नुस्, सवारी निषेध भएका स्थान

यस्तो छ पार्किङ व्यवस्थापन
































