शिवरात्रिकै दिन दलितलाई पूजा गर्न निषेध, मन्दिरमा ताला
वि.सं.२०७५ फागुन २० सोमवार १५:५३
shares

धनगढी। शिवरात्रिको उल्लास चढेकै बेला धनगढीको एक शिवालयमा दलित समुदायलाई पूजा गर्नबाट रोक लगाइएको छ।धनगढी उपमहानगरपालिका–५ जाईस्थित भैरव मन्दिरमा स्थानीय दलित समुदायलाई पूजा गर्नबाट रोक लगाइएको हो। मन्दिरमा बस्ने माताको नामले चिनिने महिला पूजारीले अनुहार हेरैरै दलित युवतीलाई पूजा गर्नबाट रोक लगाउनुका साथै उनले लगेको पूजा सामग्रीसमेत फालेको स्थानीयहरूले बताएका छन्।
स्थानीय आंसु ताम्राकारले सोमवार बिहान ९ बजे मन्दिरमा पूजा गर्न पुगेकी थिइन्। दुध, फूल, अगरबत्तीलगायत पूजा सामग्री लिएर पूजा गर्न पुगेकी ताम्राकारले मन्दिरकी मातालाई पूजाको लागि ताला खोल्न आग्रह गरिन्। तर माताले तिमीहरू दलित बाहिरबाटै पूजा गर्नुपर्छ। मेरो मन्दिर हो। तिमीहरूको होइन भन्दै पूजा सामग्री नै हातबाट हुत्याई दिएको पीडित युवतीले दुखेसो सुनाइन्।
उनले लोकान्तरलाई भनिन् म भन्दा पहिले मेरी आमालगायतले पूजा गर्न जानुभयो। आमालाई दलित हो भनेर चिन्न नसकेपछि उहाँहरू पूजा गरेर फर्किनु भयो। पछि म आएँ। मलाई देख्ने वित्तिकै मन्दिरमा ताला लगाई दिनुभयो। मन्दिरको ताला खोल्न अनुरोध गर्दा तिमीहरूको मन्दिर होइन भनेर पूजाको थालीबाट दुध हुत्याई दिनुभयो। मेरी आमाले पूजा गर्न पाउनु, मैले किन नपाउनु भनेर प्रश्न गर्दा उल्टै आक्रोशमा आएर अनिष्ट हुने भन्दै कराइन्। स्थानीय दलित समुदायका मान्छेहरू पूजा गर्न आउँछन् भन्दै हाल सो मन्दिरमा ताला लगाइएको छ। मन्दिरकी पूजारी माता सम्पर्कविहीन बनेकी छन्।
सो मन्दिरमा दलित समुदायलाई पूजा गर्नबाट पहिलैदेखि रोक लगाइँदै आएको छ। स्थानीय कौशिला ताम्राकारले भनिन्, गत वर्ष मपनि मन्दिरमा पूजा गर्न आएकी थिएँ। तर पूजा गर्न दिइएन। हामीहरू दलिबाहेकको निजी मन्दिर भन्दै दलितलाई रोक लगाइँदै आएको उनी बताउँछिन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले घटना स्थलमा प्रहरी परिचालन गरी जातीय विभेद गरी पूजा गर्न रोक लगाउनेलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए।































