‘रेशम चौधरीलाई जेलमुक्त गरौ’ : बाबुराम भट्टराई
वि.सं.२०७५ चैत ४ सोमवार १८:१७
shares

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनालाई जनताले अनुमोदन गरिसकेको बताएको छ। यही चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान सरकारले एका तिर विखण्डनकारी तत्वलाई अतिरञ्जित तवरले गौरवीकरण गर्न खोजेको र अर्को तिर अखण्डता र सार्वभौमसत्ता पक्षधर, प्रदेश सीमाङ्कनबारे फरक मत राख्ने टीकापुर घटनाका विद्रोहीहरूलाई हदैसम्मको दण्ड गर्ने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको ठहर गरेका हुन्।
“टीकापुर घटनामा शिशु र केही सुरक्षाकर्मीहरूको ज्यान जानु अत्यन्त दुःखद् कुरा हुँदाहुँदै पनि यो मूलतः प्रदेश रचनाको मोडलमा विमति राख्ने उत्पीडित थारू समुदायको राजनीतिक विद्रोह थियो। रेशम चौधरी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुले त्यो विद्रोह जनअनुमोदित भएको पुष्टि हुन्छ। विगत दशकमा देशका अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरू भए।
अरू घटनालाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई मात्र शुद्ध आपराधिक घटनाका रूपमा व्यवहार गर्नु बिल्कुलै असङ्गत र अन्यायपूर्ण कुरा हो, उनले भनेका छन्। उनले सांसद रेशम चौधरीलगायत टीकापुर घटनामा जेल गएका सम्पूर्ण अपराधीलाई रिहा गर्नसमेत माग गरेका छन्।













