एसईई परीक्षामा सांसददेखि नायिकासम्म सहभागी

4.75K
shares

काठमाडौं। मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजबाट शुरु भएको छ।

चैत २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्। १ हजार ९ सय ६९ केन्दमा सञ्चालन हुने परीक्षाका लागि ७२ हजार ६ सय ७१ जना प्रत्यक्ष रुपमा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ।

छात्रभन्दा छात्राबढी
परीक्षा वोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार कुल परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन्।

परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेश नम्बर १ बाट ८३ हजार ८१८, प्रदेश नम्बर २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नम्बर ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन्।

पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा
राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसपटको एसईई परीक्षाका लागि प्रदेशगत रुपमा समानान्तर प्रश्नपत्रहरुको सेट तयार गरिएको छ । ६ वटा अनिवार्य विषयका समानान्तर प्रश्नपत्र बनाइएको वोर्डले जनाएको छ।

वोर्डका अनुसार परीक्षाको तयारीको सबै व्यवस्थापन प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन्। वोर्डका अनुसार प्रश्नपत्र तयार, उत्तर पुस्तिका परीक्षण र नतिजा निकाल्ने काम भने राष्ट्रिय परीक्षा वोर्डले गर्नेछ जसका लागि ५९ वटा जाँच केन्द्र तोकिएको छ।

परीक्षा सञ्चालनको सबै खर्च, उत्तरपूस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेश सरकारले गर्ने व्यवस्था मिलाइएको छ । हरेक वर्षको परीक्षामा जस्तै यसपाली पनि परीक्षामा अनियमितता गर्ने विद्यार्थी, निरीक्षक वा अभिभावकलाई कानूनअनुसार कारबाही हुने वोर्डले जनाएको छ।

सांसददेखि नायिकासम्म समेत सहभागी हुँदै

यसपालिको एसईई परीक्षामा चर्चित नायिका करिश्मा मानन्धरदेखि प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीसमेत सहभागी हुँदैछन् । पढ्ने उमेरमा काममा व्यस्त हुनुपरेपछि पढाई छाडेकी मानन्धरले ४५ वर्षको उमेरमा एसईई परीक्षा दिन लागेकी हुन्।

त्यस्तै ०६४ सालमा संविधानसभामा समेत सभासद् रहेकी र अहिलेको संघीय संसदअन्तर्गत् प्रतिनिधिसभा सदस्य समेत रहेकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी समेत यसपालीको एसईई परीक्षामा सहभागी हुँदैछन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराहीमा कक्षा ८ मा भर्ना भएकी चौधरीले यसपाली आफ्नी १७ वर्षीय छोरीसँगै परीक्षा दिँदैछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083