एनसेल लाभ करबापतको रकम तीन महिना भित्र उठाउन सर्वोच्चको आदेश

5.03K
shares

काठमाडौं । निजी दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिना भित्र उठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। एनसेलका विषयमा मंगलबार पूर्णपाठ दिँदै तीन महिना भित्र लाभकर उठाउन आदेश दिएको हो। करको दायित्व निर्वाहा नगरेसम्म लाभांस र कम्पनी बिक्रीमा रोक लगाउने फैसला पनि सर्वोच्चले गरेको छ।

प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणा, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्‍तानको बृहत पूर्ण इजलासले मुद्दाको टुंगो लगाएको हो। एनसेल बिक्रीपछि अहिलेसम्म २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० रुपैयाँ पूँजीगत लाभकरबापत अग्रिम भुक्तानी र बिलम्ब शुल्कबापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ ठूला करदाता कार्यालयलाई बुझाइ सकेको छ।

बुझाइ सकेको रकम समेतलाई दृष्टिगत गरी कर निर्धारण र कर असूल उपर गर्ने सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र कानुनबमोजिम आवश्यक निर्णय गर्नू गराउनू, साथै करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिनू नदिलाउनू भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छु सर्वोच्चको आदेशमा छ।

त्यस्तै, आदेशमा भनिएको छ एक्जिएटा वर्हाड मलेसियाले मलेसियन स्टक एक्सचेन्जमा देखाएको १ अर्ब ३६ करोड ५१ लाख अमेरिकी डलरको नेपाली मुद्रामा हुने १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजार रुपैयाँलाई विवादित कारोवारमा भुक्तानी भएको मानी त्यसमामा लागत खर्च कटाई टेलियासोनेरा स्वीडेनका नाउँमा कर निर्धारण भएको देखियो। एनसेलको निहित स्वामित्वको निसर्ग भएको अवस्थामा पनि विद्यमान कानूनी व्यवस्थाहरु बारे हेक्का नराखिँदा कानून बमोजिम सहि किसिमबाट कर निर्धारण हुन सकेको पाइएन।

यस अघि प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले लाभांश रोक्न नमिल्ने आदेश गरेको थियो। एनसेलको रिट पछि पूर्वसचिव द्वारिकानाथ ढुंगेल समेत पाँच जनाले रिट दायर गरेका थिए। लाभकरको दायित्व एनसेलमै रहेको दाबी सहित दायर रिट पनि सँगै सुनुवाइ भएको थियो।


divya collage
unigloble collage