खोटाङमा यात्रुवाहक बस दुर्घटना, एकको मृत्यु, १४ घाइते
वि.सं.२०७६ वैशाख ३ मंगलवार ११:४०
shares

खोटाङ। काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन्।
चालक र सहचालक सहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्स मार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ।
बस सडकबाट चिप्लिएर १५–२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए । सहचालक ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ।




















