अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध

7.27K
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उहाँले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे ।

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुनसकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए। अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे ।

कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आएदेखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि बताए ।

गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरे । अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए ।

गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए। यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो ।

सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए। कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083