वडाध्यक्षको निधनमा गाउँपालिकाद्वारा शोक बिदा
वि.सं.२०७७ वैशाख १९ शुक्रवार १२:०८
shares

बागलुङ ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधनले सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । शोकमा डुबेको गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदासमेत दिएको छ ।
वैशाख ८ गते गुल्मीको शान्तिपुर बसपार्कमा रहेको घरमा आगलागीमा घाइते भएका खनालको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो । आगलागीमा खनालका एक छोराको वैशाख ८ गते नै मृत्यु भएको थियो । उनकी श्रीमतीको उपचार चलिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित ४९ वर्षीय खनाल सफल व्यवसायीका रूपमा स्थापित हुनुहुन्थ्यो । बरेङ गाउँपालिकाले आफ्ना न्यायिक समितिका सदस्य तथा आर्थिक विकास समितिका संयोजकसमेत रहेका खनालको निधनमा आज पालिकाभर नै शोक बिदा दिने घोषणा गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष शर्माले विहीबार शोक प्रस्ताव पारित गर्दै पालिकाले आज सार्वजनिक बिदाको घोषणा गरेको बताउनुभयो । आज गाउँपालिकाभित्रका सरकारी र गैरसरकारी निकायबाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह र अन्य कामकाज बन्द हुने गाउँपालिकाले जनाएको छ ।































