‘चीन र नेपालबीच सीमा विवाद छैन’
वि.सं.२०७७ असार १६ मंगलवार ०९:३४
shares

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीच सीमा विवाद नरहेको बताउनुभएको छ । सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्नुहुँदै राजदूत यान्छीले दुई देशबीच सीमा विवाद नरहेको प्रष्ट पार्नुभएको हो ।
नेपालको सरकारी राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रलाई दिनुभएको एक विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र अहिलेको विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैं सम्मान उल्लेख गर्नुहुँद राजदूत होउले भन्नुभयो, ‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’
नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थ प्रेरित छ, त्यसमा सत्यता नभएको बताउँदै राजदूत होउले त्यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमान मात्र नभई नेपाल र चीनबीचको सम्बन्धमाथिको समेत प्रहार भएको बताउनुभएको छ ।
































