प्रचण्डले ओलीका वरिपरि देखेका दुई चार जना खराब मान्छे को-को हुन् ?
वि.सं.२०७७ साउन ५ सोमवार २१:३६
shares

नेकपाभित्र फेरि एकपटक तानातान हुने लक्षण देखिएको छ । नेकपाभित्रको चर्को राजनीतिक अन्तरबिरोध प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एउटा पद नछोडेसम्म निकास ननिस्कनेतर्फ सोझिएको छ । तर,प्रधानमन्त्री त्यत्तिकै छोड्ने अवस्थामा देखिनुहुन्न ।
उता,खुमलटार समूहले पनि आफ्नो अडान छाड्ने कुनै लक्षण देखाएको छैन । आज खुमलटारमा भएको पूर्व माओवादीनिकट स्थायी समितिका सदस्यहरूको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रोधित हुँदै प्रधानमन्त्री तथा अध्यक्षले सँधै दम्भ,अहंकार,घमण्ड र मैमत्ता देखाउँदै आउनुभएको बताउनुभएको छ ।
‘मैले सबैथोक त्यागेँ,अब के त्याग्न बाँकी छ र वहाँले के त्याग्नुभएको छ र’ भन्दै दाहालले स्थायी समिति सदस्यलाई आश्वस्त पार्नुभएको थियो ।
प्रचण्डका अनुसार प्रधानमन्त्रीमा सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखियो ।
आजको भेलामा प्रचण्डले घटनाक्रमको निश्कर्ष सुनाउँदै भन्नुभयो ‘वहाँ आफ्ना वरिपरिका दुई, चार जना खराब मानिसको सल्लाहमा चल्नु हुँदोरहेछ । वहाँ स्वचालित होइन, सञ्चालित पो हुनु हुँदोरहेछ’ ।


















