‘बैंक ब्याजदर १० प्रतिशतमा सीमित गर्छौं’ : प्रधानमन्त्री

5.12K
shares

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने बताएका छन् ।

बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए ।

‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषय सरकारको प्राथमिकतामा रहेको छ, तिहारपछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ।’

जग्गा कित्ताकाट फुकुवाले घर जग्गा कारोबार बढ्न थालेको, पर्यटक आगमन पनि बढेकाले अर्थतन्त्र चलायमान हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाइ छ । आफ्नो भारत र चीन भ्रमणका प्रतिफल छिट्टै देखिने पनि उनले उल्लेख गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानबारे प्रश्न उठाउने हक कसैमा नभएको तर्क गर्दै उनले यस विषयमा प्रमुख दलहरुबीच एक खालको समझदारी बनेकाले एक दुई दिनभित्र राष्ट्रका नाममा अपील गरिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्रीले आम्दा अस्पताललाई मेडिकल कलेज बनाउन सरकारको तर्फबाट सक्दो सहयोग गर्ने पनि बताए ।

सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको भन्दै उनले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८ सय शय्या निशुल्क उपलब्ध गराइएको उल्लेख गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा २०० शय्या भवनको शिलान्यास गरेका छन् । हाल एक सय शय्याको क्षमतामा सञ्चालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

२०५५ कात्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शय्याबाट अस्पतालको सुरुवात भएको थियो ।

अस्पतालले यसै वर्षदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रमाणपत्र तह नसिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083