प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको दीक्षान्त समारोह सम्पन्न
वि.सं.२०८१ असोज २२ मंगलवार १८:३६
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको आज सम्पन्न भएको हाे ।
प्रमुख अतिथिले विभिन्न विधाहरूमा उत्कृष्ट तालिम हासिल गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा अबका कार्यक्षेत्रहरू चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको कुरा विश्वास व्यक्त गर्नुभयो । उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो । प्रमुख अतिथिले प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको प्रशिक्षण गतिविधिहरू समेटी प्रकाशन गरिएको “संकल्प” विमोचन समेत गर्नु भएको थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्वारा प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो ।
उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईज्यूले स्वागत मन्तव्य गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ने.प्र.प्र.का.मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकाल, विभिन्न कार्यालयहरुमा कार्यरत प्रहरी नायब महानिरीक्षकहरु, प्रहरी बरिष्ठ उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, अन्य प्रहरी कर्मचारीहरू र आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी अधिकृतका (प्राविधिक) आदरणीय अभिभावकहरुकाे समेत उपस्थिति रहेको थियो ।
































