कोशी प्रदेश प्रहरी कार्यालयद्वारा “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रम पुनः संचालन

4.41K
shares

बिराटनगर।  “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रम पुनः संचालन भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन गरेको हाे । विविध कारणवस संचालन हुन नसकेको प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो ।

पुस २२ आज देखी संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीसंग आ-आफ्नो पिरमार्का, समस्या तथा गुनासो राखेका थिए ।

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालय विराटनगरले यो कार्यक्रम पुनः संचालनमा ल्याएको हो ।

“प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय बिराटनगरले निरन्तर रुपमा संचालन गर्ने भएको छ।