काठमाडौ उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

3.87K
shares

काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालयले एकैपटक १२१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक दिपक थापाको निर्णयानुसार यही वैशाखको तलबभत्ता खानेगरी सम्बन्धित कार्यालयमा सरुवा हुन निर्देशन गरिएको छ ।

सरुवासँगै धेरै कार्यालयका प्रहरी प्रमुख हेरफेर भएका छन् । काठमाडौं उपत्यकाका ३ जिल्लामा पनि ९ वटा प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन् ।

सरुवा सूचीअनुसार काठमाडौंका वृत्तहरू कालिमाटी, बानेश्वर, थानकोट, बालाजु, नगरप्रहरी कार्यालय भृकुटीमण्डप र कीर्तिपुरका ईन्चार्ज फेरिएको छ ।

प्रहरी वृत्त थानकोटामा प्रहरी मुख्यालयको यूएन शाखामा कार्यरत डिएसपी एलिजा गिरीलाई लगिएको छ । डिएसपी गिरी प्रहरीमा अब्बल अधिकृत हुन् । महिला कमाण्डर भएर अब थानकोटवासीको सुरक्षामा खटिनेछिन् उनी ।

बानेश्वरमा जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डिएसपी हरि खतिवडा, कालिमाटीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिएसपी मधु थापा, बालाजुमा मानव बेचबिखन ब्यूरोमा कार्यरत डिएसपी ज्ञानबहादुर विष्टलाई लगिएको छ ।

त्यस्तै, प्रहरी वृत्त कीर्तिपुरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत डिएसपी राजबाबु महर्जनको सरुवा गरिएको छ भने नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङको सरुवा भएको छ ।

यस्तै ललितपुर र भक्तपुरका केही वृत्तका ईन्चार्ज फेरिएको छ । सूचीअनुसार ललितपुरको सातदोबाटो वृत्तमा रामकुमार यादव र चापागाउँमा प्रहरी मुख्यालयका डिएसपी यमकुमार श्रेष्ठको सरुवा गरिएको छ ।

भक्तपुरको ठिमीमा भने नवराज ढुंगानाको सरुवा भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083