कांग्रेस बदलेर चुनावमा होमियौँ, अब देश बदल्छौँ : गगन थापा

3.64K
shares

९ माघ, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र सुधार गरेर नै कांग्रेस चुनावी मैदानमा उत्रिएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब संगठनलाई चुनावमा केन्द्रित हुन निर्देशन दिए।

आज बसेको बैठकले सभापति थापालाई आगामी संसदीय निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। बैठकले चुनावअघि नै नेतृत्व तय गरेर जनतामा जाने नीति सर्वसम्मत रूपमा पारित गरेको हो।

थापाले यसपटक उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी भएको स्वीकार गरे। समयको अभावका कारण चाहेजति समावेशी बनाउन नसकिएको भन्दै उनले आगामी निर्वाचनदेखि जिल्लास्तरबाटै मतदानमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था लागू गरिने बताए।

“यसपटक केही त्रुटि र कमजोरी भएका छन्, त्यसलाई म सभापतिको हैसियतले स्वीकार गर्छु,” उनले भने, “आगामी दिनमा कांग्रेसको उम्मेदवार चयन प्रक्रिया अझ लोकतान्त्रिक र समावेशी हुन्छ।”

पार्टीभित्रको परिवर्तनबारे बोल्दै थापाले कांग्रेस आफैँ बद्लिएको नभई आफूहरूले बदलिएको बताए। “हामीले कांग्रेस बदल्यौँ, अब यो देश बदल्ने संकल्पका साथ चुनावमा गएका छौँ,” उनले भने।

उनले १६५ वटै निर्वाचन क्षेत्रमा रहेका करिब १० लाख क्रियाशील सदस्यलाई आ(आफ्नो क्षेत्रमा सक्रिय हुन आग्रह गरे। साथै, नेता–कार्यकर्तालाई अरूको क्षेत्रमा होइन, आफ्नै क्षेत्रमा खटिन निर्देशन दिए।

अघिल्लो निर्वाचनको प्रसंग निकाल्दै उनले कांग्रेसलाई कठिन परिस्थितिमा पनि लाखौँ मतदाताले समर्थन गरेको स्मरण गरे। “हामीले कार्यकर्ताको चाहनाअनुसार रुखमै भोट हाल्न मिल्ने वातावरण बनाएका छौँ,” उनले भने।

चुनावी अभियानलाई मर्यादित बनाउन पार्टीभित्र आचारसंहिता बनाइने र अन्य दललाई पनि निष्पक्ष प्रतिस्पर्धाका लागि आह्वान गरिने उनले बताए। “हामी फेयर प्ले र फेयर गेम चाहन्छौँ,” थापाले जोड दिए।