ओलीसँग बहस गर्न बालेनको अस्वीकार

‘हत्याराको मतियारसँग एउटै मञ्चमा उभिन्नँ’: बालेन

1.42K
shares

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका नेताहरूबीच ‘पब्लिक डिबेट’ गर्ने बहस सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि   राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै प्रधानमन्त्रीको उम्मेदवार सबैलाई एउटै मञ्चमा ल्याएर एजेन्डा, विगतका काम र भविष्यको योजनामाथि बहस गर्न तयार रहेको बताएका थिए ।

ओलीले लेखेका छन्, ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने काम भइरहेको छ । यस्तो अवस्थामा आमने–सामने बहस हुनु सकारात्मक कुरा हो ।’

ओलीको उक्त प्रस्ताव सार्वजनिक भएलगत्तै बालेन शाहले सामाजिक सञ्जालमै कडा प्रतिक्रिया जनाउँदै बहस बहिष्कार गर्ने घोषणा गरे ।

बालेनले लेखेका छन्, ‘२३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाइएको हो । आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ?’

उनले थप लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ । त्यो म स्वीकार गर्दिनँ ।’

ओलीको बहस प्रस्ताव र बालेनको कडा जवाफपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आउन थालेको छ । कतिपयले यसलाई लोकतान्त्रिक अभ्यास भनेका छन् भने कतिपयले चुनावी प्रचारको नयाँ शैलीका रूपमा टिप्पणी गरेका छन् ।

आगामी निर्वाचन नजिकिँदै जाँदा नेताहरूबीचको यस्तो आरोप–प्रत्यारोपले राजनीतिक तापक्रम झन् बढ्ने देखिएको छ ।