एसएसपी दिलीप घिमिरेद्वारा प्राङ्गणमै बसेर सेवाग्राहीका गुनासा प्रत्यक्ष सुनुवाइ
वि.सं.२०८३ असोज ३ शनिवार ०७:२९
shares

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले कार्यालयको कार्यकक्षमा मात्र सीमित नरही परिसरको प्राङ्गणमै बसेर सेवाग्राहीका गुनासा, समस्या तथा पिरमर्का प्रत्यक्ष रूपमा सुन्ने र आवश्यक सेवा तथा सहजीकरण गर्ने पहल थालेका छन्।
नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिँदै सेवाग्राहीका समस्या प्रहरी प्रमुख आफैँले प्रत्यक्ष सुन्ने व्यवस्था मिलाइएको हो। सेवा लिन परिसरमा आउने नागरिकले आफ्ना समस्या, उजुरी तथा गुनासा राख्न सक्ने र आवश्यकताअनुसार तत्काल सम्बन्धित शाखा तथा प्रहरी अधिकारीलाई निर्देशन दिने गरिएको छ।
यस पहलले सेवाग्राहीलाई प्रहरी कार्यालयसम्म आफ्नो समस्या पुर्याउन सहज हुनुका साथै प्रहरी सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एसएसपी घिमिरेको यो अभ्यासले प्रहरी र नागरिकबीचको दूरी घटाउँदै पीडित तथा सेवाग्राहीका समस्या छिटो सम्बोधन गर्ने वातावरण निर्माण गर्नसमेत योगदान पुर्याउने देखिन्छ।




















