अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा जाँदै

377
shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गरेको हो। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्।

अर्थ मन्त्रालयका अनुसार विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्य भ्रमणका प्रमुख विषय रहनेछन्।

भ्रमणका क्रममा बिहीबार साँझ वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। शुक्रबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सोही दिन उनले भारतका पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनेछन्। यस्तै, भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्कनेछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083